तुलसीपुर उपमहानगरपालिका–६ गोलौराकी ४२ वर्षीय वकी डाँगी छोटो समयमा एक सफल महिला उद्यमीका रुपमा आफूलाई चिनाउन सफल भएका छन् ।
उनी विगत सात वर्षदेखि व्यावसायिकरुपमा भैँसीपालन गरेर सफल बनेका हुन् । अहिले घरपरिवारका दुई सदस्यसहित भैँसीपालनमा संलग्न छन् । उहनले स्थानीय एक व्यक्तिलाई आंशिकरुपमा रोजगारी दिएका छन् । उनी पशुपालनबाट सन्तुष्ट छन् । उनले भने, “गत वर्ष सबै खर्च कटाएर वार्षिक करीब रु सात लाख बचत भयो ।
यस वर्ष कोरोनाका कारण केही नोक्सान भयो । अहिले भने राम्रो छ । ”
उनको दिनचर्या बिहानको मिर्मिरे उज्यालोदेखि शुरु हुन्छ । उनी प्रायः भैँसीका पाडापाडीको स्याहारसुसारमा धेरै व्यस्त देखिन्छन। परम्परागतरुपमा खेतीपाती गर्दै आएकी उनले विसं २०७० मा शुभ भैँसी फाराम दर्ता गरी व्यावसायिकरुपमा भैँसीपालनको शुरुआत गरेका थिए ।
उनले भने “शुरुमा रु एक लाखमा एक उन्नत जातको भैँसी खरीद गरी भैँसीपालन गरेका हौँ अहिले भने फममा साना ठूला गरी २८ वटा मुर्रा जातका भैँसी रहेका छन् । तीमध्ये १० दुहुना भैँसी रहेका छन् भने अरुले अब छिट्टै दुहुना हुने अवस्थामा छन् । ” उनले अहिले भैँसीले दैनिकरुपमा दिनेगरेको ११० देखि १३० लिटर दूध स्थानीय तुलसीपुरका डेरी उद्योगमा बिक्री गर्छन भने केही दूध आफ्नै फर्मबाट स्थानीवासीले खरीद गरी लिनेगरेको जाकारी दिए ।
दाङमा प्रतिलिटर दूधको फुटकर मूल्य रु ८०
मङ्गलबार डाँगीको भैँसी फार्ममा दूध खरीद गर्न आएकी तुलसीपुर उमहानगरपालिका–६ रजौरा निवासी ४३ वर्षीया राधा पाण्डेले आफ्नै घरआँगनमा शुद्ध दूध खान पाइने भएकाले किन्न आएको बताए । उनले भने, “यस अघि एक लिटर दूध किन्न पनि तुलसीपुर बजार जानुपर्ने वाध्यता थियो ।
अहिले घर छेउमा ताजा दूध पाउँदा खुशी लागेको छ ।” सोही फर्ममा मल किन्न गएकी तुलसीपुर–६ गोलौराकी ३८ वर्षीया पूर्णिमा बस्नेतले आफूले अर्गानिक तरकारी खेती गर्दै आएकाले भैँसीको मल लिन आएको जानकारी दिए ।
उनले भने, “एक ट्र्याक्टर मललाई रु तीन हजार ५०० पर्दोरहेछ खुशी लाग्यो अब लगेर हिउदे तरकारी खेती गर्छु ।” उनको फर्ममा अहिलेसम्म रु २५ लाखसम्म लगानी भइसकेको छ भने दुग्धजन्य पदार्थ र मल बिक्रीबाट वार्षिक रु २० देखि २५ लाखसम्म आम्दानी हुने गरेको छ ।
आन्तरिक व्यवस्थापकीय सबैजसो खर्च कटाएर वर्षमा कम्तीमा पनि सात लाख बचत गर्न सफल भएका उनले बताए । घाँसको पर्याप्त उत्पादन नहुँदा दाना तथा पराल, चरणलगायत अन्य सामग्री खरीद गर्दा लागत खर्च बढेको जानकारी दिए ।
“अहिलेसम्म सरकारी निकायबाट केही प्राविधिक सहयोग त पाएको छु तर अरु आर्थिक सहयोग कुनै निकायबाट पाएको छैन” “गत वर्ष तुलसीपुर उपमहानगरपालिकाले उत्कृष्ट भैँसीपालक किसान भनेर पुरस्कृत गर्यो, त्यसबाट थप हौसला मिलेको छ”, उनले भने । अहिले उनको भैँसी फार्ममा विभिन्न ठाउँबाट भैँसी हेर्न, जानकारी लिन तथा भैँसी खरीदको लागिसमेत मानिस आउने गरेका छन् ।
पढेलेखेका पैसा कमाउनकै लागि जागीर खानै पर्छ अथवा विदेश नै जानुपर्छ भन्ने छैन उनको सुझाव छ । उनले पढेको कुरा व्यवहारमा लागू गर्ने हो भने कृषि व्यवसाय गर्नुपर्छ भने ।
यसको लागि राज्यले नारामा मात्र सीमित नभई व्यावहारिकरुपमै कृषि क्षेत्रलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउनुपर्ने उनको धारणा छ । उत्पादित सामग्रीलाई उचित बजारको प्रबन्ध गर्नसकेमा किसानमा अझै ठूलो हौसला मिल्ने उनको सुझाव छ ।