• जेष्ठ २६ २०८२, आईतवार

भारतीय खेलाडीमाथि अष्ट्रेलियाका दर्शकले रंगभेदी टिप्पणी गरेपछि हंगामा

पुष २७ २०७७, सोमबार

तेस्रो टेस्टका दौरान भारतीय खेलाडीमाथि दर्शकले रंगभेदी टिप्पणी गरेको आरोपमा अष्ट्रेलियाको क्रिकेटको नियमाक निकायले माफी माग्दै यसबारे अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

सिड्नीमा भइरहेको तेस्रो टेस्टको खेलका क्रममा शनिबार जसप्रित बुमराह र आइतबार मोहम्मद सिराजले आफूहरुमाथि रंगभेदी टिप्पणी भएको आरोप लगाएका थिए । आइतबार सो घटनाका कारण १० मिनेट खेल रोकिएको थियो भने ६ जना दर्शकलाई सिड्नी क्रिकेट मैदानबाट बाहिर पठाइएको थियो ।

क्रिकेट अस्ट्रेलिया (सीए) र न्यू साउथ वेल्स प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ । भारतले शनिबार नै रंगभेदी टिप्पणीबारे खेलका रेफ्री डेभिड बुन र अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिललाई जानकारी गराएको थियो ।

आईसीसीले यस विषयको अनुसन्धानमा क्रिकेट अस्ट्रेलियालाई सहयोग गर्ने बताउँदै दुई हप्ताभित्र यसबारे रिपोर्ट पेस गर्न सीएलाई निर्देशन दिएको छ । सीएका अधिकारी सीन क्यारोलले रंगभेद अस्ट्रेलियाको क्रिकेटमा स्वीकार्य नभएको बताउँदै दोषीको पहिचान गरी कारवाही गरिने स्पष्ट पारे ।