काठमाडौं । अमेरिकी गुप्तचर निकायले सार्वजनिक गरेको एउटा तस्बिरमा अन्तरिक्षमा रहेको चीनको गोप्य ‘शेनलोङ’ स्पेसप्लेन भनिएको यानको पेलोड बे (सामान राख्ने कक्ष) का ढोका खुला रहेको दुर्लभ दृश्य देखिएको छ ।
अक्टोबर २६ मा अमेरिकी डिफेन्स इन्टेलिजेन्स एजेन्सी (डीआईए) ले सार्वजनिक गरेको तस्बिरमा एउटा अन्तरिक्षयान देखिन्छ । यद्यपि, डीआईए र चीन दुवैले उक्त यान शेनलोङ नै भएको पुष्टि गरेका छैनन् ।
यस तस्बिरले ‘शेनलोङ’जस्ता पुनः प्रयोग गर्न सकिने कक्षीय यानको सञ्जाल बनाएर चीनले कति छिटो विश्वव्यापी सैन्य आक्रमण गर्न सक्छ भन्ने प्रश्न उठाएको बताइएको छ ।
यसै विषयमा गरिएको एक अध्ययनले चीनले ४० वटा स्पेसप्लेन अन्तरिक्षका विभिन्न स्थानमा तैनाथ गरे विश्वको जुनसुकै लक्ष्यमा केही मिनेटमै पुग्न सक्ने विश्लेषण गरिएको छ ।
‘साउथ चाइना मर्निङ पोस्ट’का अनुसार, अध्ययनले ४० वटा स्पेसप्लेनको सञ्जाल उपलब्ध भए विश्वको जुनसुकै भागमा आक्रमणका लागि अधिकतम अढाई मिनेटभित्र प्रस्थान गर्न सकिने देखाएको छ । विश्वका अधिकांश जनघनत्व भएका क्षेत्रमा पुग्न भने एक मिनेट मात्रै प्रतीक्षा गरे पुग्ने अध्ययनको अनुमान छ ।
यद्यपि, यो सैद्धान्तिक अनुमान मात्रै हो । चीनसँग यस्तो सञ्जाल रहेको वा त्यसबाट तीव्र गतिमा आक्रमण गर्न सक्ने प्रमाणित क्षमता भएको पुष्टि भएको छैन ।
‘शेनलोङ’ पुनः प्रयोग गर्न सकिने अन्तरिक्षयान हो । यसलाई रकेटको सहायताले अन्तरिक्षमा पुर्याइन्छ र त्यसपछि उपग्रहझैँ पृथ्वीको कक्षमा रहन सक्छ । आवश्यकताअनुसार आफ्नो स्थान र कक्षा परिवर्तन गर्न सक्ने यो यान मिसन पूरा भएपछि पृथ्वीमा फर्कन सक्छ ।
सामान्य उपग्रहभन्दा फरक, आफ्नो कक्षा र स्थान परिवर्तन गर्न सक्ने क्षमताका कारण ‘शेनलोङ’ लाई सम्भावित सैन्य उपयोगका दृष्टिले महत्त्वपूर्ण मानिएको छ ।
अन्तरिक्षमा सैन्य क्षमता विस्तार गर्ने प्रतिस्पर्धा चीनमा मात्रै सीमित छैन । अमेरिकासँग पनि ‘एक्स–३७बी’ नामको पुनः प्रयोग गर्न सकिने स्पेसप्लेन छ । यसलाई प्राविधिक परीक्षण र गोप्य अन्तरिक्ष अभियानमा प्रयोग गरिँदै आएको छ ।
चीन र अमेरिकाबीच अन्तरिक्ष प्रविधिमा प्रतिस्पर्धा बढिरहेका बेला ‘शेनलोङ’ जस्ता यान भविष्यमा निगरानी, उपग्रहसम्बन्धी गतिविधि तथा अन्य सैन्य प्रयोजनमा महत्त्वपूर्ण हुन सक्ने अनुमान गरिएको छ ।