• मंसिर ११ २०८१, मंगलवार

विलियम्सनको दोहोरो शतक, न्यूजील्यान्ड सुदृढ स्थितिमा

पुष २१ २०७७, मंगलवार

क्राइस्टचर्च, २१ पुस केन विलियम्सनले दोहोरो शतक प्रहार गरेपछि पाकिस्तान विरुद्धको दोस्रो टेस्ट क्रिकेटमा न्यूजील्यान्ड सुदृढ स्थितिमा पुगेको छ । विलियम्सनको यो चौथो दोहोरो शतक हो ।

न्यूजील्यान्ड टिमका कप्तान समेत रहेका विलियम्सन व्यक्तिगत २३८ रन बनाएर आउट भएका थिए । न्यूजील्यान्डका लागि हेनरी निकोल्सले १५७ तथा डेरिल मिचेलले १०२ रन बनाएर महत्वपूर्ण योगदान दिएका थिए ।

तेस्रो दिन छ विकेटको क्षतिमा ६५९ रन बनाएर न्यूजील्यान्डले पहिलो इनिङ समाप्त भएको घोषणा गरेको छ । यो घोषणासँगै न्यूजील्यान्डले पाकिस्तान विरुद्ध ३६२ रनको विशाल अग्रता बनाएको छ ।

पाकिस्तानले पहिलो इनिङमा २९७ रन बनाएको थियो ।

तेस्रो दिन नै दोस्रो इनिङ शुरु गरेको पाकिस्तानले एक विकेटको क्षतिमा ८ रन बनाएको छ । पाकिस्तानका शान मसूद कुनै रन नै नबनाई आउट भएका छन् ।

दुई टेस्टको यस शृंखला अन्तर्गत पहिलो खेलमा न्यूजील्यान्ड विजयी भएको थियो ।