• मंसिर ९ २०८३, मंगलवार

मलाई पक्राउ गर्न आउँदा हतकडी लिएर आउनू : गगन थापा

मंसिर ९ २०८३, मंगलवार

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूलाई पक्राउ गर्न आउँदा हतकडी लिएर आउन सरकारलाई चुनौती दिएका छन् । आफूविरुद्ध हुने अनुसन्धानमा सहयोग गर्ने बताउँदै उनले कानुन अनुसार अनुसन्धान र कारबाही गर्न सरकारलाई आग्रह गरेका हुन् ।

मंगलबार (मंसिर ८) पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा उनले कांग्रेसले कुनै पनि अनुसन्धानमा अवरोध नगर्ने स्पष्ट पारे । आफू वा अरू जोसुकै विरुद्ध हुने अनुसन्धानमा पार्टीले अवरोध नगर्ने उनको भनाइ छ ।

तर, राज्यका संयन्त्रलाई सत्ताको अनुकूलतामा प्रयोग नगर्न उनले सरकारलाई चेतावनी दिए । राज्यका निकाय सत्य र न्यायका पक्षमा उभिनुपर्ने उनले बताए ।

“नेपाली कांग्रेस कसैको अनुसन्धानमा अवरोध गर्दैन, मेरो अनुसन्धान होस् वा अरू कसैको,” उनले भने ।

सरकारका गलत कामको विरोध गर्नु आफ्नो राजनीतिक दायित्व भएको उनले उल्लेख गरे । उनले राजाको शासनकालदेखि नै आफूले राज्यका गलत कदमको विरोध गर्दै आएको स्मरण गरे ।

उनले आफू विगतमा पनि धम्की र मुद्दाको सामना गरेर अघि बढेको बताए । राजाको शासनकालमा आफूले एक्लै राजद्रोहको मुद्दा खेपेको र माओवादी द्वन्द्वका क्रममा पनि निकै दुःख पाएको उनको भनाइ थियो ।

कांग्रेस सहभागी केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारका गलत कामको समेत आफूले विरोध गरेको उनले सुनाए । थापाले व्यक्तिगत जीवनमै असर पर्ने गरी प्रश्न उठाउने र सामाजिक सञ्जालमार्फत भय सिर्जना गर्ने प्रयास भइरहेको टिप्पणी गरे ।

“व्यक्तिगत जीवनमा समेत प्रश्नका कारण समस्या आएको छ । तर, प्रश्न गर्न सुरु गरेको थिएँ, अडियो आयो । पक्राउ गर्न आउँदा खाली हात नआउनुहोला, हतकडी लिएर आउनुहोला । प्रश्न गर्न छोड्दिनँ, तर्साएर तर्सिने मान्छे होइन,” उनले भने ।

थापाले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग पार्टीको १५औँ महाधिवेशनपछि हालसम्म पाँचपटक भेट भएको जानकारी पनि दिए । प्रदेश सरकारको समीकरणका विषयमा ओलीसँग भेटघाट हुँदै आएको उनले बताए ।

मधेस प्रदेश सरकारको समीकरणका विषयमा भने ओली, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग पुनः छलफल गर्नुपर्ने उनको भनाइ छ ।