• मंसिर ९ २०८३, मंगलवार

लघुकथा : शुभ मुहूर्त

मंसिर ९ २०८३, मंगलवार

हरिले अकस्मात् तिहार पनि शहरमै मनाउने निर्णय लियो । चाडपर्वमा यात्रुहरुको चापले गर्दा यातायातको भाडामा लुटतन्त्र मच्चिने, भनेजस्तो सिट नपाउने र लामो यात्राले शारीरिक थकानमा बढोत्तरी हुने कारणले यसपालि उसले गाउँमा बस्ने आफ्ना साख्खै दिदी बहिनीकोमा नजाने निर्णय गरेको थियोे ।
शहरमै बस्ने गरेका अलि टाढाका नाता पर्ने दिदी बहिनीसँग भाइटीका लगाउन तम्तयार भएर बसेको छ ऊ । भाइटीकाको परम्परागत विधान अनुसार दिदी बहिनीले उसको शीर, कुम पुज्दैछन् फूलले । कपालमा तेल लगाइदिने, कपाल कोरिदिने, ऐना देखाउने पनि गर्दैछन् ।

यतिखेरै दिदीले बहिनीलाई भनी,” त्यति धेरै फूल खर्च नगर् न ! कति महङ्गो छ फूल अहिले ! ”
मौका पाएर बहिनीले पनि भनिहाली,” हो त नि दिदी, केही कुरा नि सस्तो छैन भन्या ! अहिले त झन् भाइ मसला र फलफूलको दाम सुन्दा मात्रै पनि त्यसै बेहोस भएर ढलिएला जस्तो हुन्छ । ”
ऊ दिदी बहिनीको कुरा सुन्दैछ र घरिघरि पाइन्टको खल्तीमा राखेको खामहरु छाम्दै छ ।
उसलाई दिदी बहिनीले माला लगाइदिए । भाइटीका लगाइदिए । उसले पनि दिदी बहिनीलाई माला सहित टीका लगाइदियो । दिदी बहिनीले फलफूल, सेलरोटी सहितको भाग उसको हातमा राखिदिए । उसले पनि दिदी बहिनीको हातमा खाम राखिदिँदै भन्यो,” तिमीहरुलाई पनि मैले दिदी-बहिनी नै मानेको छु । म तिमीहरूलाई घाटा लाग्ने काम गर्दिन । ब्यर्थै तिमीहरू किन चिन्ता मान्छौ । ”
अपर्झट दिदी बहिनी कोठाभित्र पसे र एकछिनमा बाहिर आए । बाहिर आउँदा भने उनीहरूको अनुहार निकै उज्यालो देखिएको थियो ।
ऊ पनि टीका लगाउन बसेको ठाउँबाट जुरुक्क उठ्यो र सुस्तरी भन्यो,” मेरा दिदी बहिनीले त कहिल्यै पनि भाइटीकाको शुभ मुहूर्तमा महङ्गीको कुरा गरेनन् । नाफा घाटाको कुरा गरेनन् । ”