• मंसिर ९ २०८३, मंगलवार

विपद्का बेला त्रास होइन, जीवन बचाउने सूचना प्रवाह गर्न विज्ञको सुझाव

मंसिर ९ २०८३, मंगलवार

काठमाडौं । विपद्का समयमा भ्रामक, अपूरो र अतिरञ्जित सूचना प्रवाह गर्दा जनधनको क्षति बढ्न सक्ने भन्दै विज्ञहरूले सञ्चारमाध्यमलाई जिम्मेवार, संवेदनशील र तथ्यपरक पत्रकारिता गर्न आग्रह गरेका छन्। उनीहरूले विपद्का बेला सन्त्रास फैलाउनेभन्दा जोखिमको अवस्था, सम्भावित प्रभाव र सुरक्षित रहने उपायसहितको स्पष्ट सूचना तत्काल प्रवाह गर्नुपर्नेमा जोड दिएका छन्।

क्लाइमेट एक्सन नेपालको आयोजनामा ललितपुरमा सम्पन्न ‘जलवायु तथा विपद्सम्बन्धी सही र संवेदनशील सञ्चार’ विषयक कार्यशालामा सहभागी विज्ञ, पत्रकार तथा जनप्रतिनिधिहरूले मौसम पूर्वानुमान र विपद् रिपोर्टिङमा देखिएका कमजोरी सुधार्नुपर्ने बताएका हुन्।

कार्यशालामा प्रमुख स्रोत व्यक्तिका रूपमा आफ्नो धारणा राख्दै वरिष्ठ पत्रकार रघु मैनालीले विपद्का बेला प्रवाह गरिने अमूर्त र अपूरो सूचनाले नागरिकको जीवन रक्षा गर्न नसक्ने बताए।

भोटेकोशी बाढीको उदाहरण दिँदै उनले ‘माथि जानुहोला’ वा ‘सतर्क रहनुहोला’ जस्ता अस्पष्ट सन्देशले नागरिकलाई वास्तविक जोखिम र सुरक्षित गन्तव्यबारे जानकारी दिन नसक्ने उल्लेख गरे। उनका अनुसार विपद् सञ्चारमा प्राविधिक तथ्याङ्कलाई सर्वसाधारणले सहजै बुझ्ने सरल भाषामा रूपान्तरण गर्नुपर्छ।

“विपद्का बेला सूचना आफैँमा राहत हो,” मैनालीले भने, “कहाँ, कहिले र कति तीव्रताको जोखिम आउँदै छ तथा त्यसबाट जोगिन के गर्नुपर्छ भन्ने स्पष्ट निर्देशन ३० शब्दभित्र र कक्षा ७–८ का विद्यार्थीले समेत बुझ्ने भाषामा तत्काल दिनुपर्छ।”

उनले विपद्का समयमा सामान्य पत्रकारिताको खबरदारी वा घटनाको विवरण प्रस्तुत गर्ने शैली मात्र पर्याप्त नहुने बताए। पीडितलाई दोष दिने, हतारमा निष्कर्ष निकाल्ने, अतिसामान्यीकरण गर्ने र अनावश्यक रूपमा नकारात्मक सन्देश प्रवाह गर्ने प्रवृत्ति त्याग्नुपर्ने उनको सुझाव थियो। विपद् सञ्चारले नागरिकमा भय र निराशा होइन, आशा, विश्वास र सुरक्षित रहने आत्मविश्वास जगाउनुपर्ने उनले बताए।

त्यसैगरी क्लाइमेट एक्सन नेपालका संस्थापक अध्यक्ष उज्ज्वल उपाध्यायले मौसम पूर्वानुमानलाई सनसनीपूर्ण बनाएर प्रस्तुत गर्दा अनावश्यक त्रास फैलिने गरेको बताए।

उनले सुदूरपश्चिमका पहाडी क्षेत्रमा हुने भारी वर्षालाई ‘आज देशभर भारी वर्षा’ जस्ता शीर्षक दिएर समाचार प्रकाशन गर्दा अन्य क्षेत्रमा समेत अनावश्यक डर सिर्जना हुने गरेको उदाहरण दिए। उनका अनुसार मौसमसम्बन्धी समाचारमा स्थान, समय, जोखिमको अवस्था र सम्भावित प्रभाव स्पष्ट उल्लेख गर्न आवश्यक छ।

उपाध्यायले भोटेकोशी क्षेत्रमा गएको पहिरोको पूर्वसङ्केत भारतीय रिस्याट भू-उपग्रहले आठ महिनाअघि नै देखाएको भए पनि आवश्यक जनशक्ति र अध्ययन गर्ने निकायको अभावमा त्यसको प्रभावकारी उपयोग हुन नसकेको जानकारी दिए। उनले उक्त पहिरोको चौडाइ ६४१ मिटर र लम्बाइ १ हजार ३६० मिटर रहेको तथ्यसमेत प्रस्तुत गरे।

जलवायु परिवर्तनका कारण बढ्दो तापक्रमले हिमाली क्षेत्रमा जोखिम थपिँदै गएको उल्लेख गर्दै उनले ‘वर्ल्ड वेदर एट्रिब्युसन’को वैज्ञानिक अध्ययनका आधारमा नेपालले पहिलो पटक २ करोड अमेरिकी डलरको ‘लस एन्ड ड्यामेज’ कोष सुनिश्चित गर्न सफल भएको बताए।

सामाजिक सञ्जाल र कतिपय सञ्चारमाध्यममा ‘जनप्रलय’ तथा ‘हाँडी घोप्टे पानी’ जस्ता अतिरञ्जित शब्दावली प्रयोग गर्ने, विदेशका पुराना विपद्का भिडियो प्रसारण गर्ने र कृत्रिम बुद्धिमत्ता (एआई) बाट निर्मित भ्रामक सामग्री फैलाउने प्रवृत्तिले नेपालको पर्यटन क्षेत्रमा समेत नकारात्मक असर पारिरहेको उपाध्यायको भनाइ थियो।

उनले युवाहरूको नेतृत्वमा सञ्चालित क्लाइमेट एक्सन नेपालले गोदावरी, महालक्ष्मी, भरतपुर, रत्ननगर र मनहरी क्षेत्रमा जलवायु अनुकूलन, फोहोर वर्गीकरण, बायोग्यास प्रवर्द्धन तथा जीविकोपार्जनका कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए।

 

कार्यशालामा भरतपुर महानगरपालिकाका कार्यकारी समिति सदस्य विष्णुबहादुर भुजेलले माथिल्लो तटीय क्षेत्रमा आउने बाढी तथा पहिरोको प्रत्यक्ष जोखिम भरतपुरसम्म आइपुग्ने भएकाले पूर्वसूचना प्रणाली र समुदायस्तरको सचेतनालाई महानगरले प्राथमिकता दिएको बताए।

महानगरले क्लाइमेट एक्सन नेपाल तथा विभिन्न विज्ञसँगको सहकार्यमा प्लास्टिक पुनःप्रशोधन, फोहोर व्यवस्थापन र बोटे समुदायलगायत स्थानीय समुदायमा जलवायु सचेतनाका कार्यक्रम सञ्चालन गरिरहेको उनले जानकारी दिए। स्थानीय तहमा भइरहेका यस्ता सकारात्मक प्रयास र समुदायका वास्तविक समस्यालाई सञ्चारमाध्यमले प्राथमिकताका साथ उजागर गर्नुपर्ने उनको भनाइ थियो।

कार्यक्रममा डिजेनका अध्यक्ष अमिका राजथलालगायत सहभागी पत्रकारहरूले पनि जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण र जिम्मेवार सञ्चारको भूमिकाबारे आफ्ना धारणा राखेका थिए।

कार्यशालाका सहभागीहरूले जलवायु परिवर्तन र विपद्का चुनौती बढ्दै गइरहेको वर्तमान अवस्थामा सञ्चारमाध्यमले तथ्यमा आधारित, स्थानविशेषको जोखिम पहिचान गर्ने र नागरिकलाई तत्काल सुरक्षित रहन सहयोग पुग्ने सूचना प्रवाह गर्नुपर्ने निष्कर्ष निकालेका थिए।

‘जलवायु तथा विपद्सम्बन्धी सही र संवेदनशील सञ्चार’ सम्बन्धी सामुहिक विषेश छलफल समेत गरिएको थियो ।