• मंसिर ९ २०८३, मंगलवार

ब्रिटिश गोर्खा र तिनका सन्ततिको नेपाली नागरिकता निरन्तरताका लागि लन्डनमा सिएनसिबिको विशेष कार्यक्रम

मंसिर ९ २०८३, मंगलवार

लन्डन। ब्रिटिश गोर्खा तथा तिनका सन्ततिको वंशजको नेपाली नागरिकता निरन्तरता, ऐतिहासिक पहिचान र अधिकार संरक्षणको मागसहित ब्रिटिश गोर्खा नागरिकता निरन्तरता अभियान (CNCBG) ले लन्डनमा विशेष जनचेतनामूलक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

शनिबार, २१ नोभेम्बर २०२६ मा लन्डनस्थित मगर भवन, प्लमस्टेडमा आयोजित कार्यक्रममा बेलायतमा क्रियाशील विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधि, भूतपूर्व गोर्खा सैनिक, महिला, समाजसेवी तथा अभियानका शुभचिन्तकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा संस्थाका उपाध्यक्ष शोभराज गुरुङले स्वागत मन्तव्य राख्दै CNCBG को परिचय, अभियानको पृष्ठभूमि, उद्देश्य तथा ब्रिटिश गोर्खा र तिनका सन्ततिको नेपाली वंशजको नागरिकता निरन्तरताको महत्त्वबारे प्रकाश पारे।

उनले नागरिकताको निरन्तरता केवल कानुनी दस्तावेजको विषय नभई ब्रिटिश गोर्खाहरूको इतिहास, मातृभूमिसँगको सम्बन्ध, नेपाली पहिचान र भावी पुस्ताको भविष्यसँग जोडिएको महत्त्वपूर्ण सवाल भएको बताए। अभियानलाई सफल बनाउन विभिन्न नेपाली संघसंस्था, गोर्खा समुदाय र शुभचिन्तकबीच एकता र सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।

त्यसैगरी, CNCBG का अर्का उपाध्यक्ष दलबहादुर बुढाथोकीले आफ्नो नेपाल भ्रमणका क्रममा भएका गतिविधिबारे जानकारी गराए। उनले कुपण्डोलस्थित होटल हिमालयमा आयोजित संगोष्ठी तथा अन्तरक्रिया, सरकारी एवं अन्य सरोकारवाला निकायसँग भएका छलफल र संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको ‘काठमाडौं घोषणापत्र २०८३’ का विषयमा विस्तृत जानकारी दिएका थिए।

उनले नेपाल सरकार, राजनीतिक नेतृत्व तथा सम्बन्धित निकायसँग निरन्तर संवाद र समन्वय गर्दै नागरिकता निरन्तरताको मागलाई प्रभावकारी रूपमा अघि बढाउनुपर्नेमा जोड दिए।

कार्यक्रममा मगर संघ यूके, प्लमस्टेड शाखाका पूर्वअध्यक्ष धन थापालगायत विभिन्न वक्ताहरूले अभियानप्रति समर्थन तथा शुभकामना व्यक्त गरेका थिए।

ब्रिटिश गोर्खा नेपाली एक्स-सर्भिसमेन एसोसिएसन (BGNESAUK) का अध्यक्ष केशबहादुर गुरुङ, ग्रिनविच गोर्खा एक्स-सर्भिसमेन एसोसिएसन (GGESA) का सचिव गमबहादुर गुरुङ तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले नागरिकता निरन्तरता अभियानप्रति ऐक्यबद्धता जनाएका थिए। उनीहरूले नागरिकताको विषय वर्तमान पुस्तामा मात्र सीमित नभई भावी सन्ततिको पहिचान र अधिकारसँग समेत सम्बन्धित रहेको उल्लेख गरे।

यसै क्रममा गोर्खा भूतपूर्व सैनिक संघ (GAESO) को साउथ इस्ट लन्डन, प्लमस्टेड शाखाका अध्यक्ष गमर थापाले गोर्खा अधिकार आन्दोलनको ऐतिहासिक पृष्ठभूमि, संस्थापक पदमबहादुर गुरुङको योगदान तथा पेन्सनसम्बन्धी संघर्ष र त्यसबाट प्राप्त उपलब्धिहरूको स्मरण गराएका थिए।

कार्यक्रममा SELMA UK की सल्लाहकार देवी आलेले आफ्ना छोराछोरीसँग जोडिएको प्रेरणादायी पारिवारिक अनुभव सुनाइन्। आफू नागरिकता निरन्तरता अभियानको कार्यक्रममा सहभागी हुन लागेको थाहा पाएपछि छोराछोरीले खुसी व्यक्त गरेको प्रसंग उल्लेख गर्दै उनले सबै अभिभावकलाई आफ्ना सन्ततिसँग गोर्खाहरूको इतिहास, योगदान, नेपाली पहिचान र महत्त्वबारे संवाद गर्न आग्रह गरिन्। साथै, नयाँ पुस्तालाई समेत अभियानमा जोड्नुपर्नेमा उनले जोड दिइन्।

साउथ इस्ट लन्डन लेडिज मगर एसोसिएसन (SELMA UK) की अध्यक्ष चन्द्रकला थापाले ब्रिटिश गोर्खाहरूको इतिहास, योगदान, पहिचान र नागरिकता निरन्तरताको महत्त्व नयाँ पुस्तालाई बुझाउनुपर्ने बताइन्। अर्का अध्यक्ष खर्कबहादुर पुन मगरले अभियानको प्रशंसा गर्दै आगामी दिनमा पनि निरन्तर साथ, सहयोग र समर्थन रहने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागितालाई अभियानप्रतिको संस्थागत सद्भाव र सामूहिक ऐक्यबद्धताको महत्त्वपूर्ण आधारका रूपमा लिइएको आयोजकले जनाएको छ।

प्लमस्टेडमा सम्पन्न यस कार्यक्रमले बेलायतका अन्य सहर तथा नेपाली समुदायमा पनि यस्ता जनचेतनामूलक कार्यक्रम, अन्तरक्रिया र छलफल सञ्चालन गर्न सकारात्मक आधार तयार गरेको आयोजकको विश्वास छ। अभियानलाई प्रभावकारी बनाउन नयाँ पुस्ताको सहभागिता, संघसंस्थाबीच समन्वय, फरक विचारप्रति सम्मान तथा नेपालका सम्बन्धित निकायसँग शान्तिपूर्ण र निरन्तर संवादलाई प्राथमिकता दिनुपर्ने सन्देशसमेत कार्यक्रममा प्रवाह भएको थियो।

कार्यक्रमको अन्त्यमा CNCBG का अध्यक्ष थर्क रानाले मगर संघ यूके, प्लमस्टेड शाखा, SELMA UK का महिला दिदीबहिनी तथा स्वयंसेवकहरूले गरेको आत्मीय स्वागत, उत्कृष्ट व्यवस्थापन र स्वादिष्ट नेपाली खानपानका लागि विशेष धन्यवाद व्यक्त गरे। साथै, कार्यक्रमका लागि हल उपलब्ध गराइदिने महादेव थापाप्रति पनि संस्थाको तर्फबाट आभार प्रकट गर्दै उनले कार्यक्रम समापन गरेका थिए।

अध्यक्षता सिएनसिबिजिका अध्यक्ष थर्क रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन संस्थाका सचिव जीतबहादुर घर्ती मगरले गरेका थिए। Photo CNCBG