काठमाडौं : वैदेशिक रोजगारी ठगी प्रकरणमा पक्राउ परेका दुई पूर्वमन्त्रीसहित ६ जनालाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले पक्राउ गरेका पूर्वश्रममन्त्रीद्वय शेरबहादुर कुँवर, रामेश्वर राय यादव, मन्त्रालयका तत्कालीन सचिव बिनोद के.सी.,तत्कालीन रोजगार व्यवस्थापन महाशाखा प्रमुख उमेश ढुङ्गाना, सह–सचिव राजिव पोखरेल र रोजगार व्यवस्थापन महाशाखाकी तत्कालीन कानुन अधिकृत (उप–सचिव) निर्मला गुरुङलाई चार दिनमा हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको हाे।
सीआइबीका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)अनुपम शमशेर जबराले वैदेशिक रोजगारी ठगी प्रकरणमा पक्राउ परेका उनीहरुमाथि अनुसन्धान गर्न अदालतले चार दिनको दिएको अन्नपूर्णलाई जानकारी दिए।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र तथा विकास रानाभाटसमेतको जाहेरीले वादी नेपाल सरकार र प्रतिवादी कैलाश खड्कासमेत भएको ठगी तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको कसूरमा उनीहरुलाई पक्राउ गरिएको थियो।
नेपाल सरकार र मलेसिया सरकारबीच भएको समझदारी विपरीत गैरकानुनी रूपमा श्रमिकसँग ठगी गरी संकलन गरिएको ८३ लाख ७० हजार ४३९.९२ अमेरिकी डलर र ३७ लाख १७ हजार ९८०.८० पाउण्ड स्टर्लिङगरी कुल १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ ६६ पैसा मलेसिया पठाउने निर्णयमा उनीहरूको संलग्नता देखिएको छ।