• कार्तिक २९ २०८३, शनिबार

जेनजी आन्दोलनमा कांग्रेस र एमालेका नेतालाई छानीछानी निशाना बनाइयोः देउवा

कार्तिक २९ २०८३, शनिबार

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले हजारौँ शहीदहरूको बलिदान र कार्यकर्ताको त्यागबाट निर्मित पार्टीलाई कसैले पनि बन्दी बनाउन नसक्ने बताएका छन्।

कांग्रेसको ललितपुर जिल्ला अधिवेशनलाई शनिबार सम्बोधन गर्दै उनले आफूलाई व्यक्तिगत रूपमा अब केही पाउनु नरहे पनि जीवनको अन्तिम सास रहुन्जेल पार्टीको हित र संरक्षणका लागि लडिरहने स्पष्ट पारेका हुन् ।

कांग्रेसको साथ र कार्यकर्ताको विश्वासकै कारण आफू पाँच पटकसम्म मुलुकको प्रधानमन्त्री बन्न सफल भएको उल्लेख गर्दै देउवाले पार्टीप्रति आफ्नो ठुलो जिम्मेवारी र समर्पण रहेको स्मरण गरे। शहीदहरूको रगतले सिञ्चित भएको र जनताको भरोसा बोकेको पार्टी भएकाले कसैले चाहँदैमा यसको विचार, इतिहास र अस्तित्व समाप्त पार्न नसक्ने उनको भनाइ थियो।

पार्टीको आन्तरिक एकतामा जोड दिँदै उनले भने, ‘मलाई व्यक्तिगत रूपमा केही पाउनु छैन, तर पार्टीका लागि अन्तिम सास रहुन्जेल सङ्घर्ष गर्नु मेरो कर्तव्य हो। हजारौँ कार्यकर्ताको त्याग र शहीदहरूको समर्पणबाट बनेको यस पार्टीलाई कसैले आफ्नो नियन्त्रणमा राख्न सक्दैन।’

सम्बोधनका क्रममा देउवाले ‘जेन–जी’ आन्दोलनका नाममा कांग्रेस र नेकपा (एमाले) का नेताहरू तथा उनीहरूका घरलाई योजनाबद्ध ढङ्गले निशाना बनाइएको गम्भीर आरोप लगाए। तत्कालीन समयमा केपी शर्मा ओली प्रधानमन्त्री रहेको उल्लेख गर्दै उनले आन्दोलनका बेला आफ्नो घर, पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको आश्रम र बीपी कोइरालाको पुर्ख्यौली घरसमेत जलाइएको बताए।