• कार्तिक १७ २०८३, सोमबार

इरानी सर्बाेच्च नेता खामेनेयीकाे हत्या गरेकाेमा ट्रम्पलाई लाग्याे पश्चाताप

कार्तिक १७ २०८३, सोमबार

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका नेताहरूलाई लक्षित गरी गरिएको सैन्य कारबाहीमा अमेरिका ‘अलि बढी नै अगाडि बढेको हुन सक्ने’ टिप्पणी गरेका छन् ।

मंगलबार हुने मध्यावधि चुनावको एक दिनअघि आइवा राज्यको डुबुकसहरमा रिपब्लिकन पार्टीका समर्थकहरूलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

ट्रम्पले इरानविरुद्ध युद्ध सुरु गर्ने आफ्नो निर्णयको बचाउ गर्दै वासिङ्टनले नभई तेहरानले नै द्वन्द्व सुरु गरेको दाबी गरे । उनले हालैका चुनावी र्‍यालीमा व्यक्त गरेका धारणा दोहोर्‍याउँदै इरानलाई विश्वकै प्रमुख आतंकवाद प्रायोजक राष्ट्रका रूपमा चित्रण गरे ।

“मैले हाम्रो राष्ट्रलाई संसारको नम्बर एक आतंकवाद प्रायोजकबाट जोगाएको छु,” उनले भने ।

ट्रम्पका अनुसार सन् १९७९ को इरानी क्रान्तिपछि इरानले अमेरिकामाथि आक्रमण गर्दै आएको छ । उनले सन् २००० मा यमनको एडेन बन्दरगाहनजिकै अमेरिकी युद्धपोत यूएसएस कोलमाथि भएको आक्रमण तथा इराकलगायत देशमा अमेरिकी सेनालाई लक्षित गरी गरिएका सडक किनारका बम विस्फोटका लागि पनि तेहरानलाई जिम्मेवार ठहराए ।

यूएसएस कोलमाथिको आक्रमणको जिम्मेवारी भने अलकायदाले लिएको थियो । ट्रम्पले अमेरिकी सेनाले त्यसको जवाफमा इरानी सैन्य कमान्डर कासिम सुलेमानीको हत्या गरेको बताए । उनले सुलेमानीलाई ‘सडक किनारका बमका पिता’को संज्ञा दिए । ट्रम्पको पहिलो कार्यकालमा सन् २०२० जनवरीमा बग्दादमा अमेरिकी हवाई आक्रमणमा सुलेमानी मारिएका थिए ।

“उनीहरूले यो युद्ध सुरु गरेका हुन्, हामीले होइनौँ । हामी यसको अन्त्य गर्दैछौँ । हामी उनीहरूलाई राम्ररी तह लगाउँदै छौँ,” ट्रम्पले भने ।

उनले अमेरिकी सेनाले इरानको नौसेना, वायुसेना, हवाई प्रतिरक्षा राडार प्रणाली तथा नेतृत्व तहलाई ध्वस्त पारेको दाबी गरे । तर, इरानी नेताहरूलाई लक्षित गरिएको कारबाहीबारे बोल्दै उनले थपे, “नेताहरूको मामिलामा हामी अलि बढी नै अगाडि बढ्यौँ कि जस्तो लाग्छ, किनकी त्यहाँ कुराकानी गर्न कोही पनि छैन ।”