हेटाैडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय अनुशासन समितिले पार्टीबाट निलम्बनमा परेका बागमती प्रदेशका तीन मन्त्री तथा संसदीय दलका नेता उद्धव थापालाई पार्टीको कार्यक्रममा सहभागी गराएको विषयमा राप्रपा मकवानपुरका अध्यक्ष ऋषिलाल श्रेष्ठसँग स्पष्टीकरण मागेको छ । श्रेष्ठले आफ्नो अध्यक्षतामा निलम्बित सांसदहरूलाई अतिथि बनाई स्वागत तथा सम्मान कार्यक्रम गरेका थिए ।
पार्टीले निलम्बन गरेका व्यक्तिहरूलाई बोलाएर स्वागत तथा सम्मान कार्यक्रम आयोजना गर्नुका साथै विभिन्न आयोजनाको निरीक्षणका नाममा आयोजनास्थलसम्म लैजाने कार्यलाई पार्टीको अनुशासन समितिले गम्भीरतापूर्वक लिएको जनाएको छ ।
पार्टीको निर्णय र अनुशासन उल्लंघन गरी निलम्बित भएका व्यक्तिहरूलाई पार्टीका कार्यक्रममा सहभागी गराउनु पार्टीको मर्यादा र अनुशासनविपरीतको कार्य भएको ठहर गर्दै केन्द्रीय अनुशासन समितिले यस्ता गतिविधि नगर्न र नगराउन अध्यक्ष श्रेष्ठलाई सचेतसमेत गराएको छ ।
अनुशासन समितिका अध्यक्ष एवम् पार्टी वरिष्ठ उपाध्यक्ष रोशन कार्कीको अध्यक्षतामा बसेको बैठकले पार्टी सदस्यता निलम्बन गरिएका व्यक्तिहरूलाई पार्टीका कुनै पनि कार्यक्रममा सहभागी नगराउन समेत सबै जिल्लालाई आग्रह गरेको समितिका सदस्य सचिव गोपाल दाहालले जानकारी दिएका छन् ।