युरोप अहिले अशान्त छ । पुरानै वस्थामा बाँचिरहन सक्ने पनि देखिंदैन । नयाँ अवस्था तुरून्त आउँदैछ भन्ने पनि देखिंदैन । यस्तो अवस्थालाई ‘न बाँचीजाने न त मरीजाने’ भनेर भनिन्छ ।
पुरानो स्थितिबाट युरोप कतै जाँदैछ । तर दिशा तय हुन सकेको छैन । पुरानो नेतृत्वले धान्न र गरेर खान सक्ने स्थिति पनि छैन । नयाँ नेतृत्व तयार पनि छैन । यस्तो अवस्थामा हिजोको साम्राज्यको मालिक युरोप छटपटाइरहेको छ ।
युरोप बनाउन निर्माण गरिएको युरोपियन युनियन पनि धराशायीजस्तै बनिरहेको छ । बेलायतको ब्रेकजिटले ठूलो धक्का दिएपछि ओरालो लागिरहेको युरोपमा न त बेलायत उँभो लाग्न सकेको छ न त अरू युरोपियन राष्ट्र नै । त्यसो त साम्राज्यकालिन युरोपको आफ्नो वैश्विक आर्थिक स्रोत अमेरिकामा बसाइ सरेको पनि लामो समय भइसकेको छ ।
युरोपले आफ्नो वैभव र गरिमाअनुसार अबको जीवन धान्न र निरन्तरता दिन सक्ने देखिंदैन । यस्तो सङ्गीन घडीमा देखिएको ज्वलन्त घटना हो, फ्रान्सको आगो ओकल्ने विद्रोह । यो अहिले युरोपभरि फैलिइरहेको छ । यसको उपचार कहिँ र कतै पनि देखिंदैन ।
उपचार भनेको जनताका माग सम्बोधन हो । दमन र हत्या यसको विकल्प होइन । किनकि जनताको जीवनमा आइपरेका कठिनाइ र समस्या समाधान गर्न नसकेमा सरकार सफल भएको मानिन्छ । यो युरोपले हालसम्म अङ्गीकार गर्दै आएको प्रजातान्त्रिक मान्यता हो । यो मान्यता आफैले मिच्ने र किच्ने गरेमा युरोपको वैचारिक अस्तित्व स्वतः समाप्त हुनजान्छ ।
त्यसमाथि हालसम्म विश्वको महाशक्ति रहँदै आएको अमेरिका विभिन्न खेल खेल्दैछ, युरोप तहसनहस बनाउन । किनकि राट्रपति डोनाल्ड ट्रम्पको अतिदक्षिणपन्थी र अराजकतावादी सोच युरोपका कुनै पनि देशको मूल्य र मान्यतासँग मेल खाँदैन । युरोपमा ट्रम्प आफ्नो अनुकूलका दक्षिणपन्थी सरकारहरू गठन गर्न चाहन्छन् ।
त्यसैले फ्रान्समा लागिरहेको विद्रोहको आगो छिटै ननिभोस् र युरोपभर लाग्न थालोस् भन्नेमा उनको ध्येय पुगेको स्पष्ट देखिन्छ । उनले फ्रान्सको आन्तरिक मामलामा अन्तहीन अन्तरविरोध हालिदिन चाहन्छन् । त्यसैले त्यहाँ मुस्लिम घुसपैठ गरिसकेको र यसलाई त्यहाँबाट ननिकाल्दासम्म समस्या रहिरहने भनिरहेका छन् । यसले फ्रान्समा थप इन्धन हालिरहेको छ ।
समस्या जटिल बन्दै जाँदा फ्रान्सले भने यो समस्या दक्षिणपन्थी र वामपन्थीको उग्रवादी सोचले भएको भन्ने ठम्याइमा पुगिरहेको छ । फ्रान्सेली र आप्रवासी मुस्लिम बीचको अन्तहीन अन्तरविरोध सिर्जना गर्न चाहँदैन फ्रान्स । त्यसो होइन पनि । यो एक बुद्धिमतापूर्ण सोच पनि हो ।
तर ट्रम्प फ्रान्सको आगोलाई मुस्लिमको भुर (मशाल) लगाइदिएर मध्यपूर्व र संसारभरि फैलाउन चाहन्छन् । मध्यपूर्व र युरोप एकापसमा लडाइदिएमा अमेरिकालाई फाइदा हुने उनले देखिरहेका छन् । युरोप यो मामलामा सचेत हुनैपर्छ । इरान आक्रमणमा असहयोग गरेको भन्दै युरोपसँग बदला लिने मुडमा रहेका छन् ट्रम्प ।
फ्रान्सले दक्षिणपन्थी र वामपन्थी अतिवादीले सडक तताएको भनेर त्यहाँको मध्यमार्गी सरकारले आन्दोलनलाई केही वैचारिक, सहमतीको नजिकको र समाधेय बनाएर लैजान खोज्दै छ । समाधेय यस अर्थमा कि यसलाई फ्रान्सको सीमारेखाभित्र ल्याउने र संसारभर फैलन नदिनेमा सतर्क देखिन्छ पनि ।
मुस्लिम र ननमुस्लिम बनाउने हो भने यो आगो र अन्तरविरोध अन्तहीन र असमाधेय बन्दै जानेछ । यो अन्तरविरोधले युरोपको भविष्य कस्तो हुने भनेर निर्धारण गर्न पनि सहयोग पुर्याउने छ । फ्रान्सको विद्याार्थी र मजदुर आन्दोलनको दिशा र सरकारी साधानको तरिकाले सिङ्गो युरोपको भविष्य निर्धारण गर्ने छ ।
तर अहिले नै युरोप यता जाँदैछ भनेर निष्कर्ष निकाल्न गाह्रो छ । महाशक्ति अमेरिकी चलखेल, रूसको सशक्त आणविक र रणनीतिक उपस्थिति अनि चीनको वैकल्पिक विश्व व्यवस्थाले युरोपको आामी दिशा र स्वरूप निर्माणमा अस्वीकार गर्नै नसकिने प्रभाव पारिरहने छन् ।