• कार्तिक १४ २०८३, शुक्रबार

भुटानमा हिमताल विष्फाेट भएपछि भारतीय तट क्षेत्रमा उच्च सतर्कता जारी

कार्तिक १४ २०८३, शुक्रबार

थिम्पु । भुटानको गसा जिल्लामा पर्ने लेम्थाङस्थित हिमताल फुट्दा भीषण बाढी आएको छ।
बाढी मो छु नदी हुँदै सङ्कोश नदीतर्फ तीव्र गतिमा बगेपछि पश्चिम बङ्गालका अधिकारीहरूले उत्तर बङ्गाल क्षेत्रमा उच्च सतर्कता अपनाएका छन्। सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै १० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थान र आश्रयस्थलमा सारिएको छ।

भुटानको राष्ट्रिय सञ्चारमाध्यम भुटान ब्रोडकास्टिङ सर्भिस (बीबीएस) ले शुक्रबार दिएको जानकारी अनुसार बाढीले गसा जिल्लामा रहेको प्रसिद्ध पर्यटन स्थल गसा छाछु प्राकृतिक तातोपानी क्षेत्रका पूर्वाधारहरू बगाएको छ। घटनामा हालसम्म कुनै मानवीय क्षति वा घाइते भएको खबर आएको छैन।

रातिको समयमा आएको बाढीले पुर्‍याएको क्षतिको पूर्ण विवरण आउन भने बाँकी छ। अध्याँरो र पानीको तीव्र बहावका कारण क्षतिको आकलन गर्न समस्या भइरहेको बीबीएसले जनाएको छ। बाढीले दुईवटा बेली ब्रिज बगाएको आशंका गरिएको छ।

भुटानी पत्रिका कुएनसेलका अनुसार तातोपानी क्षेत्रतर्फ जाने लाया गाउँको सडकका केही भाग बाढीले बगाएपछि बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त सडक अनिश्चितकालका लागि बन्द गरिएको छ भने बाढी तातोपानी क्षेत्रमा पुग्नुअघि नै सो क्षेत्रलाई खाली गराइएको थियो।

भुटानको लेम्थाङमा हिमताल फुटेको खबर प्राप्त भएपछि पश्चिम बङ्गाल प्रशासनले विपद् व्यवस्थापन संयन्त्रलाई सक्रिय बनाएको छ। सङ्कोश र यसका सहायक नदी किनारमा बसोबास गर्ने बासिन्दाहरूलाई सुरक्षित रहन आग्रह गरिएको छ।

दार्जिलिङ र डुअर्स क्षेत्रका बासिन्दालाई सजग रहन भनिएको छ। दार्जिलिङका सांसद राजु बिष्टले सामाजिक सञ्जाल एक्समार्फत सङ्कोश नदी र यसका सहायक नदीको तटीय क्षेत्रमा बस्ने मानिसहरूलाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह गरेका छन्।

भुटानको लेम्थाङमा हिमताल फुटेर मो छु नदी हुँदै सङ्कोश नदीतर्फ पानी बगिरहेकाले दार्जिलिङ र डुअर्स क्षेत्रका बासिन्दा सतर्क रहनुपर्ने उनले उल्लेख गरेका छन्।