• कार्तिक ८ २०८३, शनिबार

मनको प्रेमीसँग विवाह गर्न परिवारले नमानेपछि मोबाइल टावर चढेकी युवतीको फोनबाटै भयो विवाह

कार्तिक ८ २०८३, शनिबार

काठमाडौं  l प्रेमीसँग विवाह गर्न परिवारले अस्वीकार गरेपछि एक १८ वर्षीया युवती मोबाइल टावरमा चढेको घटना सार्वजनिक भएको छ।

भारतकाे उत्तर प्रदेशको एक गाउँमा शुक्रबार बिहान यो घटना घटेको हो। ती युवतीले प्रेमीसँग विवाह गराइदिन परिवारसमक्ष माग राखेकी थिइन्। तर परिवारले सहमति नदिएपछि उनी गाउँकै मोबाइल टावरमा चढेकी हुन्।

प्राप्त विवरण अनुसार मोतीपुर थाना क्षेत्रकी साइदा नामकी युवती सोही गाउँका २१ वर्षीय नुरुद्दिनसँग प्रेम सम्बन्धमा थिइन्। नुरुद्दिन हाल रोजगारीका क्रममा मुम्बईमा छन्। सामाजिक तथा समुदायगत भिन्नताका कारण दुवै पक्षका परिवार यो विवाहको विपक्षमा थिए।

परिवारको अडानपछि आक्रोशित साइदा शुक्रबार बिहान करिब ६ बजे टावरमा चढेकी थिइन्। खबर पाएलगत्तै घटनास्थल पुगेका प्रहरी, छिमेकी र गाउँलेले उनलाई तल ओर्लिन आग्रह गरे पनि उनले विवाह नगरी नओर्लिने अडान लिइन्।

स्थिति नियन्त्रणमा लिन प्रहरीले दुवै पक्षका अभिभावकलाई राखेर छलफल गराएको थियो। करिब चार घण्टाको प्रयासपछि दुवै परिवार विवाहका लागि सहमत भए। त्यसपछि काजीलाई बोलाएर मुम्बईमा रहेका प्रेमीसँग भिडियो कलमार्फत अनलाइन विवाह (निकाह) सम्पन्न गराइयो।

विवाह सम्पन्न भएपछि बिहान १० बजे युवती टावरबाट सुरक्षित रूपमा तल ओर्लिएकी थिइन्। मोतीपुर थानाका प्रहरी निरीक्षक ब्रह्मा गोन्डका अनुसार युवतीको सुरक्षालाई प्राथमिकतामा राखेर स्थानीयको सहयोगमा घटनाको सुखद अन्त्य गरिएको छ। एजेन्सी l