• आश्विन १ २०८३, बिहीबार

विज्ञान दिवस र विष्टकाे उद्यमशीलता यात्रा : कर्णालीदेखि अन्तर्राष्ट्रिय बजारसम्म

आश्विन १ २०८३, बिहीबार

युवा वैज्ञानिक राजेन्द्र विष्ट राष्ट्रिय विज्ञान दिवसको यस अवसरमा विज्ञान, प्रविधि र उद्यमशीलताको अन्योन्याश्रित सम्बन्धलाई आत्मसात् गर्दै कर्णालीको माटोबाट सुरु भएको मेरो वैज्ञानिक तथा उद्यमशीलताको यात्रालाई बेला बेला स्मरण गर्नुहुन्छ।

उहाँकाे बुझाइमा विज्ञान केवल कक्षा कोठा, प्रयोगशाला वा शैक्षिक प्रमाणपत्रमा सीमित विषय होइन। यसैगरी विज्ञानलाई व्यवहारमा उतार्न सकियो भने यसले रोजगारी खोज्ने मात्र होइन, आफ्नै ज्ञान, सीप, अनुसन्धान, सिर्जनशीलता र स्थानीय स्रोतको उपयोगबाट स्वरोजगार बन्न तथा अरूका लागि समेत रोजगारी सिर्जना गर्न सक्ने आधार तयार गर्छ भन्ने उहाँकाे धारणा रहेकाे छ। यही सोचबाट उहाँले वैज्ञानिक यात्रालाई उद्यमशीलतासँग जोड्ने प्रयास सुरु गर्नु भएको हो।

पहिलो पाइला : सुर्खेत बायोकेमिकल एण्ड हाइजिन इन्डस्ट्री — २०७३
विज्ञान र उद्यमशीलतालाई जोड्ने पहिलो प्रयासस्वरूप वि.सं. २०७३ सालमा कर्णालीको सुर्खेतमा ‘सुर्खेत बायोकेमिकल एण्ड हाइजिन इन्डस्ट्री’ स्थापना गरियो।

उहाँका अनुसार कर्णालीमै वैज्ञानिक विधि र गुणस्तरलाई प्राथमिकता दिँदै सरसफाइ तथा स्वच्छतासम्बन्धी सामग्री उत्पादन गरी स्थानीय बजारमा उपलब्ध गराउने उद्देश्य राखिएको थियो। यसै क्रममा ‘Subhin’ नामक मौलिक ब्रान्डमार्फत विभिन्न सरसफाइ तथा स्वच्छताका सामग्रीहरू बजारमा पुर्‍याउने अवसर प्राप्त भयो ।

यो सुरुवात केवल एउटा उद्योग स्थापना गर्ने प्रयास थिएन, विज्ञानमा सिकेको ज्ञानलाई उत्पादन, बजार र रोजगारीसँग जोड्ने एउटा व्यावहारिक प्रयोग थियो।

यात्राको विस्तार : Biokarnali Aroma Pvt. Ltd. — २०७९
पहिलो चरणबाट प्राप्त अनुभव र सिकाइलाई आधार बनाउँदै कर्णालीका बहुमूल्य जडीबुटी तथा प्राकृतिक स्रोतमा आधारित मूल्य अभिवृद्धि गर्ने उद्देश्यले वि.सं. २०७९ सालमा Biokarnali Aroma Pvt. Ltd. स्थापना गरियो।

कर्णालीमा पाइने जडीबुटीलाई कच्चा पदार्थका रूपमा मात्र बाहिर पठाउनुको सट्टा स्थानीय स्तरमै वैज्ञानिक प्रशोधन, अनुसन्धान, फर्मुलेसन, प्याकेजिङ र ब्रान्डिङमार्फत उच्च मूल्यका उत्पादनमा रूपान्तरण गर्ने हाम्रो मुख्य अवधारणा हो।

विष्टले कुराकानीका क्रममा हिमाली तथा स्थानीय जडीबुटीमा आधारित विभिन्न हर्बल तथा प्राकृतिक चिया, सुगन्धित तेल (Essential Oils), प्राकृतिक अर्क, पोषण तथा आरोग्यसम्बन्धी उत्पादनहरू विकास गर्ने प्रयास भइरहेको जानकारी पनि दिनु भयाे।

यस यात्रामा रैथाने ज्ञान र आधुनिक विज्ञानबीचको संयोजनलाई पनि विशेष महत्व दिइएको छ। पुस्तौंदेखि प्रयोग हुँदै आएका स्थानीय जडीबुटीसम्बन्धी ज्ञान तथा परम्परागत अभ्यासलाई आधुनिक वैज्ञानिक अनुसन्धान, प्रशोधन प्रविधि र गुणस्तर नियन्त्रणसँग जोड्दै नयाँ उत्पादन विकास गर्ने हाम्रो प्रयास हो।

स्थानीय स्रोतदेखि अन्तर्राष्ट्रिय बजारसम्म

सुर्खेतको स्थानीय बजारबाट सुरु भएको यो यात्रा क्रमशः काठमाडौँलगायत नेपालका प्रमुख बजारसम्म विस्तार हुँदै गएको छ। आज कर्णालीका प्राकृतिक स्रोत र मौलिक पहिचान बोकेका उत्पादनहरू यूकेसम्म पुग्न थालेका छन्। यसले कर्णालीका जडीबुटी, प्राकृतिक उत्पादन र स्थानीय उद्यमलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने सम्भावनालाई अझ बलियो बनाएको छ।
त्यसैगरी, सिंगापुरमा उत्पादनहरूको प्रवर्द्धन, प्रदर्शन तथा बजार विस्तारका लागि सहकार्य र शाखा/वितरण केन्द्रको तयारी पनि अघि बढिरहेको छ। हाम्रो लक्ष्य केवल उत्पादन विदेश पठाउनु मात्र होइन; ‘कर्णालीमा उत्पादन, कर्णालीको पहिचान र विश्व बजारमा मूल्य’ भन्ने अवधारणालाई स्थापित गर्नु हो।

यसकाे बनावट र महत्वका हिसाबले निम्न कुराहरूमा उहाँले जाेड दिनु भएकाे छ ।

बजारीकरणमा विज्ञान र प्रविधिको प्रयोग

आजको प्रतिस्पर्धात्मक बजारमा राम्रो उत्पादन मात्र पर्याप्त हुँदैन। उत्पादनको गुणस्तर, ब्रान्ड पहिचान, प्याकेजिङ, कथा र बजारसम्मको पहुँच पनि उत्तिकै महत्वपूर्ण हुन्छ।

यसका लागि ‘Subhin’ तथा ‘Highland Organics’ जस्ता मौलिक ब्रान्डमार्फत उत्पादनको पहिचान निर्माण गर्ने, आकर्षक तथा जानकारीमूलक प्याकेजिङ विकास गर्ने, डिजिटल माध्यमबाट प्रचार–प्रसार गर्ने, भिडियो सामग्री तथा डिजिटल क्याटलग प्रयोग गर्ने र स्थानीय बजारदेखि अन्तर्राष्ट्रिय बजारसम्म सञ्जाल विस्तार गर्ने रणनीति अपनाइएको छ।

विशेषगरी कर्णालीको प्राकृतिक स्रोत, स्थानीय ज्ञान, हिमाली भूगोल र मौलिक पहिचानलाई ब्रान्डको मुख्य आधार बनाउने प्रयास गरिएको छ।

प्राविधिक पक्ष र गुणस्तरमा जोड

उत्पादन विकासको आधार वैज्ञानिक सोच र प्रविधि हो। जडीबुटी तथा प्राकृतिक स्रोतलाई उचित प्रशोधन प्रविधिमार्फत सुरक्षित, गुणस्तरीय र बजारयोग्य उत्पादनमा रूपान्तरण गर्ने कार्यमा विशेष ध्यान दिइएको छ। यस क्रममा फर्मुलेसन, प्रशोधन, गुणस्तर नियन्त्रण, स्वच्छता, प्याकेजिङ तथा भण्डारणका वैज्ञानिक पक्षलाई प्राथमिकतामा राखिएको छ।

वैज्ञानिक विष्टले प्रयोगशालाको ज्ञानलाई उत्पादनसँग जोड्दै स्थानीय कच्चा पदार्थमा आधारित नयाँ उत्पादन विकास गर्ने र बजारको आवश्यकता तथा गुणस्तरका मापदण्ड अनुसार निरन्तर सुधार गर्ने प्रयास भइरहेको जानकारी दिनुभयाे।

भविष्यको बाटो
विष्टले आगामी दिनमा याे कामकाे यात्रा अझ व्यापक बनाउने योजना रहेकाे बताउनु भयाे ।  पहिलो, यूके  लगायतका अन्तर्राष्ट्रिय बजारमा पुगेका उत्पादनहरूको बजार विस्तार र व्यवस्थित वितरण प्रणाली विकास गर्ने तथा सिंगापुरलगायत अन्य अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तार गर्ने।

दोस्रो, कर्णालीको जडीबुटी, प्रकृति, योग, ध्यान, सुगन्ध तथा स्थानीय जीवनशैलीलाई जोडेर Wellness Tourism (आरोग्यता पर्यटन) को अवधारणालाई विकास गर्ने। तेस्रो, स्थानीय जडीबुटी तथा प्राकृतिक स्रोतमा थप अनुसन्धान गरी नयाँ मूल्यवर्धित उत्पादन विकास गर्ने।

चौथो, स्थानीय युवा, महिला, किसान तथा उद्यमीलाई सीप, प्रविधि र उद्यमशीलतासँग जोड्दै स्वरोजगार तथा रोजगारीका अवसर सिर्जना गर्ने। पाँचौँ, कर्णालीका प्राकृतिक स्रोतलाई दिगो रूपमा उपयोग गर्दै कच्चा पदार्थ निर्यात गर्ने परम्पराभन्दा माथि उठेर प्रशोधित, ब्रान्डेड र उच्च मूल्यका उत्पादन निर्माण गर्ने वातावरण तयार गर्ने।