काठमाडौँ । चीनतर्फबाट आएको बाढीका कारण नागढुंगा–मुग्लिन सडक अवरुद्ध भएपछि काठमाडौँ उपत्यकामा ग्यास आपूर्ति सहज बनाउन वैकल्पिक उपाय खोजिएको छ ।
सडक अवरोधले ग्यास बुलेटहरू आउन नसकेपछि काठमाडौँ बाहिरका उद्योगबाट सिलिन्डर भरेर कान्तिराजपथ, त्रिभुवन राजपथ लगायतका वैकल्पिक रुट प्रयोग गरी ट्रक मार्फत ढुवानी गर्ने विषयमा हेटौँडामा छलफल भएको छ ।
मकवानपुरको जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा प्रमुख जिल्ला अधिकारी (सीडीओ), प्रहरी उपरीक्षक (एसपी), सडक डिभिजनका प्रतिनिधि, नारायणी ट्रक व्यवसायी समितिका पदाधिकारी र एलपी ग्यास व्यवसायीहरू सहभागी छन् ।
नेपाल आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र शाहले दिएको जानकारी अनुसार, मुख्य राजमार्ग बन्द हुँदा उपत्यकामा ग्यासको समस्या देखिन थालेकाले यो विकल्प अघि सारिएको हो । काठमाडौँ बाहिर रहेका ग्यास उद्योगहरूमा सिलिन्डर भरेर ट्रक मार्फत उपत्यका पठाउने तयारी भइरहेको शाहले बताए ।