काठमाडौं : प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख २० हजार रुपैयाँ सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट र क्यूआर कोड सामाजिक सञ्जालमा पोस्ट गर्ने एक व्यक्ति पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय मन्थली रामेछापका अनुसार पक्राउ पर्नेमा गोकुलगंगा गाउँपालिका वडा नम्बर २ का ३२ वर्षीय भगवान कार्की रहेका छन्। कार्की रास्वपाका कार्यकर्ता हुन्।
गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितहरूको उद्धार तथा राहत संकलनका लागि नेपाल सरकारले स्थापना गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आफूले १ लाख २० हजार रुपैयाँ सहयोग गरेको भन्दै कार्कीले सामाजिक सञ्जालमा नक्कली स्टेटमेन्ट पोस्ट गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनले च्याट जीपीटीको प्रयोग गरी नक्कली स्टेटमेन्ट तयार पारेर आफ्नो क्यूआर कोडसमेत सामाजिक सञ्जालमा पोस्ट गरेका थिए। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।