• भाद्र १३ २०८३, शनिबार

प्राकृतिक विपदमा संयमताको खाँचो !

भाद्र १३ २०८३, शनिबार

सप्तगण्डकीको भोटेकोसी बाढीले निम्त्याएको कहर काटिरहेका छौँ । यो विपद्बाट हामी सबै त्राहिमाम छौँ । जनधनको असीम क्षति भएको छ । वेपत्ता आफन्त खोजीरहेका छौँ । घाइतेको पीडा देखिरहेका छौँ । सदाका लागि बिदा भएका मृतकको सनाखत गरिरहेका छौँ ।

यो बेलामा मानिसमा आवेग, सम्वेग र आक्रोश सीमा बाहिर छन् । किनकि सिर्जित अवस्था मानिसको कल्पना र पकडभन्दा बााहिर छ, भयाबह छ । यति बेला नियतिले के कस्तो भूमिका निर्वाह गर्‍यो, त्यो समीक्षाको विषय बनिसकेको छ ।

तर नियतले नराम्रो र कुभलो चाहिँ चिताउनु हुँदैन । आग्रह र पूर्वाग्रह अहिलेको अवस्थामा पाच्य र स्वीकार्य दुबै हुन सक्दैनन् । सहयोग, सल्लाह र सजीव सहकार्य अहिलेको समस्या समाधानका उत्तम विकल्प हुन् ।

भोटे कोसीको प्रलयकारी बाढीले निम्त्याएको कहर छिमेकी देश चीन, भारत वा मित्रराष्ट्र अमेरिकाका कारण निम्तिएको होइन । यो त विशुद्ध प्राकृतिक विपद् हो ।

यहाँ भूराजनीतिक चलखेल वा सांस्कृतिक गतिविधिको भूमिका छैन । बरू हामी नेपालीको समस्या पहिचानको अभाव, सतर्कता र वैकल्पिक समाधानको खोजी र कार्यान्वयनमा देखिने अरूचीले काम गरिरहेको छ ।

आफूले भैपरिआउने समस्यामा ध्यान नदिने तर काम बिग्रिएमा अरूलाई दोष दिने खोटो नेपाली परम्परागत चिन्तनबाट बेलैमा मुक्त हुनुपर्छ । बिग्रिएको नेपाली चिन्तन र अवस्थालाई थप बिगार्ने होइन । बरू मति र गति सुधार्नेतिर चेत पलाउनु पर्छ ।

आफ्नो बलबुता र हैसियतमा अघि बढ्न जान्नु पर्छ । समस्या समाधानमा पनि आत्मनिर्भरतलाई प्राथमिकता दिन सक्नुपर्छ । पीडा पचाउने, पाठ सिक्ने, बुद्धिविवेकको अचुक प्रयोग गर्ने र अघि बढ्ने आजको आवश्यकता हो ।

हामी नेपाली आफ्ना कमीकमजोरी सकार गर्ने, सबल पक्षलाई अघि बढाउने र विज्ञान प्रविधिको सदुपयोगमा गतिदिने तर्फ लागौँ । राजनीतिक आग्रह पूर्वाग्रह त्यागेर सबै संयमित बनौँ !