• भाद्र १२ २०८३, शुक्रबार

राष्ट्रिय चिन्तक गोरेबहादुर खपाङ्गी मगरको १०औँ वार्षिक स्मृतिसभा

भाद्र १२ २०८३, शुक्रबार

काठमाडौं । राजनीतिज्ञ, पूर्वमन्त्री तथा राष्ट्रिय चिन्तक गोरेबहादुर खपाङ्गी मगरको १०औँ वार्षिक स्मृतिसभा काठमाडौंमा सम्पन्न भएको छ। कार्यक्रममा वक्ताहरूले खपाङ्गी मगरले एकलजातीय वर्चस्व, सामाजिक विभेद र राज्य संरचनामा रहेको असमानताविरुद्ध उठाएको आवाज आज पनि उत्तिकै सान्दर्भिक रहेको बताएका छन्।

गोरेबहादुर खपाङ्गी फाउन्डेसनको आयोजनामा कमलादीस्थित नेपाल प्रज्ञा-प्रतिष्ठानमा आयोजित स्मृतिसभाका प्रमुख अतिथि मानवशास्त्री प्राडा. डम्बर चेम्जोङले खपाङ्गी मगरको तस्बिरमा माल्यार्पण गर्दै कार्यक्रम उद्घाटन गरेका थिए।

स्मृतिसभालाई सम्बोधन गर्दै प्राडा. चेम्जोङले खपाङ्गी मगरले नेपाली समाज र राष्ट्रका लागि पुर्‍याएको योगदानको स्मरण गरे। उनले समाज र राज्यमा विद्यमान एकलजातीय वर्चस्वविरुद्ध खपाङ्गी मगरले गरेको संघर्षलाई महत्वपूर्ण योगदानका रूपमा व्याख्या गरे।

उनका अनुसार खपाङ्गी मगरले आफ्नो विचार र राजनीतिक संघर्षका क्रममा ठूलो मूल्य चुकाउनुपरेको थियो। अहिले पनि राज्यका विभिन्न निकायमा एकलजातीय वर्चस्व कायम रहनुले खपाङ्गी मगरले उठाएका प्रश्नहरू अझै समाधान नभएको देखाउने प्राडा. चेम्जोङको भनाइ थियो।

कार्यक्रमका विशेष अतिथि पूर्वमन्त्री डा. केशवमान शाक्यले पनि खपाङ्गी मगरको योगदानको चर्चा गरे। राज्य संरचनामै जातीय विभेद र असमानता रहेको उल्लेख गर्दै उनले पछाडि पारिएका समुदायलाई अधिकारबाट वञ्चित गर्ने प्रवृत्तिविरुद्ध खपाङ्गी मगरले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए।

डा. शाक्यले खपाङ्गी मगरको योगदान, त्याग र तपस्यालाई नयाँ पुस्ताले बुझ्नुपर्नेमा जोड दिए।

स्मृतिसभामा भिक्षु मेधङ्कर स्थवीर, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका निमित्त प्रमुख राम मादेन, नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष शान्ति देवान, गौरीशंकर उच्च माध्यमिक विद्यालय रामेछापका पूर्वप्रधानाध्यापक नीरबहादुर कार्की तथा नेपाल मगर संघका पूर्वमहासचिव लोकबहादुर थापा मगरलगायतले खपाङ्गी मगरको योगदानको स्मरण गरेका थिए।

हुमबहादुर थापा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा फाउन्डेसनका सल्लाहकार सञ्जोक लाफा मगरले स्वागत मन्तव्य राखेका थिए भने सचिव खड्ग सारु मगरले कार्यक्रमको सहजीकरण गरेका थिए।

स्मृतिसभामा विभिन्न मगर संघ-संस्था तथा राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। नेपाल मगर संघ केन्द्रीय समिति, महोत्तरी जिल्लालगायत विभिन्न स्थानमा समेत खपाङ्गी मगरको स्मृतिमा कार्यक्रम आयोजना गरिएको जनाइएको छ।

कार्यक्रमको अन्त्यमा फाउन्डेसनका अध्यक्ष हुमबहादुर थापा मगरले प्रमुख अतिथि प्राडा.डम्बर चेम्जोङलाई मायाको चिनो प्रदान गरेका थिए।

मगर समुदायको पहिचान, अधिकार, सामाजिक न्याय र सांस्कृतिक संरक्षणका पक्षमा आवाज उठाउँदै आएका खपाङ्गी मगरलाई नेपाली राजनीतिमा फरक दृष्टिकोण र वैचारिक अडान राख्ने व्यक्तित्वका रूपमा स्मरण गरिन्छ। PC- Roman Budha Magar