भाद्र १० गते भोटेकोसीमा आएको प्रलयकारी बाढीले नेपाललाई रणनीतिक पाठ सिकाएको छ । नेपालको दक्षिणी मोहडा भएको भूधरातल र सोही अनुरूप बहने जलाधार आउँदा दिनमा अझैँ कष्टदायी बन्दै जान थालेका छन् ।
यसका प्रथम कारकहरूमा विश्वमा बढ्दो तापमान (ग्लोबल वार्मिङ), हिमालय क्षेत्रमा सानाठूला भूकम्पको निरन्तरता, तापमानका कारण हिमपहिरोको स्खलन, हिमतालहरूको निर्माण, कच्चा भूबनोट र अतिवर्षा रहेका छन् ।
यसमाथि थप मानवीय क्रियाकलापहरू जस्तै भौगर्भिक अध्ययन विनाका बस्ती विकास, बाटो सहितका अन्य भौतिक पूर्वाधार निर्माण, पदयात्रा तथा तीर्थ यात्राका असुरक्षित निवास, अतिवर्षा अनि जथाभावी निर्माण गरिएका बाटाहरूले भोटे कोसीले निम्त्याएका विपदमा सहयोग पुर्याइरहेका छन् ।
यस्ता कारकहरूमध्ये प्रकृतिप्रदत्त कारकहरू हाम्रो काबुभित्र नरहे पनि मानवीय क्रियाकलापमा भने सचेतता अपनाउन सक्छौं । साथै प्रकृति सिर्जित समस्याको पनि विशिष्टता पहिचान र तदनुरूपका क्रियाकलाप व्यवहारमा अपनाउन सके हामीले त्यति धेरै क्षति बेहोर्नु पर्ने छैन ।
हिमालयमा बढिरहेको तापमानको नियमित जानकारी, हिमतालमा पानीको मात्राको घटबढ, हिमपहिरो र हिमनदीको अवस्थाको बोध, हिमालयमा गइरहेका सानाठूला भूकम्पले गइरहेको पहिरो तथा जोखिम रहेका मानिएका ठाउँका भूबनोट र भूगर्भको निरन्तर अध्ययन नेपाल सरकारको नियमित कार्यसूचीमा रहनु पर्छ ।
हालको सरकारले कानुनी रूप दिएको नदी किनारका बस्ती हटाउने मान्यतालाई व्यवहारिक रूप दिनु जरूरी छ । यसले जनधनको जोखिमलाई निकै न्युनीकरण गरिदिने छ । नदीको सदुपयोग र नदीजन्य खानी तथा पानीको उत्तम उपयोगमा कडाइ गरिनु पर्छ ।
मानव वस्तीका लागि निस्चित मापदण्ड बनाइनुपर्छ । विकास निर्माणका लागि पनि दीगो विकासमा आधारित मापदण्ड अपनाउनु पर्छ । वृक्षारोपण तथा तारजालीको उचित प्रयोगमा विशेष ध्यान दिइनु पर्छ । पानीको दीर्घकालिन निकासको व्यवस्था नगरी बाटो निर्माण नै गर्नु हुँदैन ।
नदीमा अनावश्यक छेकबार, पानीका इनार निर्माण, तटबन्ध निर्माण आदि गरिँदै आएका छन् । यी कार्यमा रोक लगाइनु पर्छ । मानिसलाई देखासिकी गरेर ठूल्ठूला घर निर्माण भन्दा पनि आवश्यकता अनुसार घर र साना उद्योगतिर प्रोत्साहित गर्नुपर्छ ।
नेपालमा बाढी, पहिरो, डुबान आदि नै मुख्य प्राकृतिक विपद् हुन् । यी विपद नदीजन्य विपदका रूपमा देखा परिरहेका छन् । त्यसैले नदीजन्य विपद न्युनीकरणका लागि सबैभन्दा पहिले नदीका विशेषताको बोध हुनु जरूरी हुन्छ । नदीले आफ्ना स्रोत र हैसियत अनुसार हानी वा फाइदा पुर्याउने गरिरहेका छन् ।
यसका लागि नदीको वर्गीकरण र तदनुरूपको व्यवहार जरूरी छ । नेपालका पहिलो किसिमका नदी हिमाललाई मुहान बनाए बगेका छन् । यी बढी जोखिमयुक्त छन् । सप्तकोसी, सप्तगण्डकी र सप्तकर्णाली यस श्रेणीका नदीमा पर्दछन् ।
विश्व तापमानमा बृद्धि, हिमताल विष्फोटन, हिमनदीको वेग, अति वर्षा र भौगर्भिक हलचलले यसमा प्रत्यक्ष असर पार्दछन् । भाद्र १० गते सप्तगण्डकीको भोटेकोसीमा आएको प्रलयकारी बाढीको कहर यसको ज्वलन्त उदाहरण हो ।
स्रोत र जोखिम दुबैमा दोस्रो श्रेणीमा पर्ने नदीहरू महाभारतका लेक तथा पर्वतीय श्रृङ्खलालाई मुहान बनाएर दक्षिणतिर बहेका छन् । राप्ती, बबई लगायतका नदी यसका उदाहरण हुन् । यिनमा हिमनदी, हिमपहिरो, हिमताल आदिको डर हुँदैन । तर भारी वर्षाका कारण हुनसक्ने बाढी, पहिरो तथा नदी थुनिएर बन्ने ताल (ब्यारियर लेक) विष्फोटनको त्रास र संभावित क्षतिको संभावना भने रहिरहन्छ ।
तेस्रो श्रेणीका नदी भनेका चुरे पर्वतमालाबाट उत्पत्ति भएर बग्ने नदी नै हुन् । यी नदी चुरे क्षेत्रमा दैनिक उत्खनन् भइरहेको गिट्टी, बालुवा तथा वन विनासका कारण सुक्दै र हराउँदै गइरहेका छन् । सुक्नु र हराउनुका कारण यी नदी मानव जीवनका लागि समस्या बन्दै गइरहेका छन् ।
उच्च पहाडी भेगमा बाढी र पहिरो आउँदा यसले दक्षिणको समथर मैदानमा डुबानको समस्या निम्त्याउँछ । नदीको यही स्वभाव र कार्यलाई दृष्टिगत गरी नेपालमा बस्ती विकासको नयाँ अवधारणा निर्माण र कार्यान्वयन गरिनुपर्छ ।