विराटनगर । आमाको उपचारका लागि अस्पतालमा बसेका बेला आफैलाई सिसाले प्रहार गरेका मोरङको लेटाङ नगरपालिका–२ का ४० वर्षीय राजेन्द्र राईको उपचारका क्रममा मृत्यु भएको छ ।
राजेन्द्रले विराटनगरको गोल्डेन अस्पताल परिसरमा आफ्नै पेटमा सिसा प्रहार गरेका थिए । पेटमा सिसा प्रहार गरेपछि गम्भीर घाइते भएका राजेन्द्रको गोल्डेनमै उपचार भइरहेको थियो ।
प्रहरीका अनुसार राजेन्द्र आफ्नी ६९ वर्षीया आमा राम्रिका राईको उपचारका लागि गोल्डेन अस्पतालमा बसेका थिए । साउन २ गते बिहान करिब ६ बजे अस्पतालको पछाडिपट्टि पुगेका उनले घरको झ्यालमा प्रयोग हुने सिसाले आफ्नै पेटमा प्रहार गरेका थिए ।
मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार गम्भीर घाइते भएका राजेन्द्रलाई तत्काल गोल्डेन अस्पतालमै उपचारका लागि भर्ना गरिएको थियो । उपचारकै क्रममा शुक्रबार साँझ करिब ७ बजे उनको मृत्यु भएको जानकारी मिश्रले दिए ।
प्रहरीले मृतकको शवलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि कोशी अस्पताल पठाएको जनाएको छ ।
राजेन्द्रले यस्तो कदम किन चाले भन्ने विषय खुल्न नसकेको प्रहरीले जनाएको छ । घटनाको वास्तविक कारण पत्ता लगाउन थप अनुसन्धान भइरहेको डीएसपी मिश्रले बताए । ‘अस्पतालमा आफैलाई सिसा प्रहार गरेर गम्भीर घाइते बनेका राजेन्द्रको जीवन जोगिएन ।
तर, घटनाको कारण थाहा हुन सकेन । विस्तृतमा अनुसन्धान गरिएपछि वास्तविक कारण पत्ता लाग्छ । अहिले प्रहरीले विभिन्न कोणबाट घटनाको अनुसन्धान गरिरहेको छ,’ डीएसपी मिश्रले भने ।