काठमाडाैं। नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरूका लागि ‘वालेट’ खोल्ने तथा प्रयोगकर्ताको विवरण अद्यावधिक (KYC) गर्ने प्रक्रियामा राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गर्दै भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशिकामा १५औँ संशोधन गरेको छ।
राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले शुक्रबार परिपत्र जारी गर्दै नयाँ व्यवस्थाबारे जानकारी गराएको हो।
संशोधित व्यवस्थाअनुसार अब भुक्तानी सेवा प्रदायक अनुमतिप्राप्त संस्थाहरूले नेपाली नागरिकको हकमा राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखसँग विवरण यकिन गरेर मात्र वालेट खाता खोल्नुपर्नेछ।
साथै, आगामी असोज मसान्तभित्र आफ्ना प्रयोगकर्ताहरूसँग राष्ट्रिय परिचयपत्र भए-नभएकोबारे मोबाइल एप वा अन्य उपयुक्त माध्यमबाट स्वघोषणा लिनुपर्ने जिम्मेवारी पनि संस्थाहरूलाई दिइएको छ।
त्यस्तै, राष्ट्रिय परिचयपत्र बनाइसकेका नागरिकले २०८३ असोज मसान्तभित्रै आफ्नो वालेटमा परिचयपत्र नम्बर अद्यावधिक गरिसक्नुपर्नेछ।
परिचयपत्र नबनाएका प्रयोगकर्ताका हकमा भने नागरिकता वा अन्य कागजातबाटै वालेट खोल्न सकिने भए पनि परिचयपत्र बनाएपछि विवरण अद्यावधिक गर्न संस्थाहरूले प्रत्येक महिना सम्झाउनुपर्ने व्यवस्था गरिएको छ।
विदेशमा बस्ने नेपालीहरूका लागि भने अनलाइनमार्फत कागजात पेस गरी वालेट खोल्ने सुविधा यथावत् राखिएको छ, यद्यपि उनीहरू नेपाल फर्किएको छ महिनाभित्र राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक गरिसक्नुपर्नेछ।
यसैगरी, आफ्नो हेरचाह आफैं गर्न नसक्ने अशक्त तथा असहाय नागरिकका हकमा भने राष्ट्रिय परिचयपत्र नभए पनि अन्य आवश्यक कागजातका आधारमा वालेट खोल्न र कारोबार गर्न सकिने लचिलो व्यवस्था गरिएको छ।