• श्रावण ७ २०८३, बिहीबार

अधिकारमा आधारित संरक्षणका लागि संस्थागत सहकार्य सुदृढ गर्न काठमाडौंमा राष्ट्रिय गोष्ठी हुँदै

श्रावण ७ २०८३, बिहीबार

काठमाडौं । आदिवासी महिला कानुनी सचेतना समूहको आयोजनामा ‘अधिकारमा आधारित संरक्षणका लागि संस्थागत सहकार्य सुदृढीकरण’ विषयक राष्ट्रिय गोष्ठी आयोजना हुने भएको छ।

गोष्ठीको मुख्य उद्देश्य नेपालमा अधिकारमा आधारित संरक्षणको प्रवर्द्धनमा रहेका अवसर र चुनौतीबारे बहस तथा संवाद गर्दै विभिन्न सरोकारवाला निकायलाई एउटै मञ्चमा ल्याउनु रहेको आयोजकले जनाएको छ।

कार्यक्रममा अधिकारमा आधारित संरक्षणसम्बन्धी मुख्य कार्यपत्र प्रस्तुत गरिनुका साथै आदिवासी समुदायका प्रतिनिधि, वन तथा वातावरण मन्त्रालय, नागरिक समाजका संस्था र अन्य सम्बन्धित सरोकारवालाको सहभागितामा प्यानल छलफल सञ्चालन गरिनेछ।

संस्थाकी अध्यक्ष तथा अधिवक्ता इन्दिरा श्रीसका अनुसार प्यानल छलफल संस्थागत सहकार्यलाई थप प्रभावकारी बनाउने, समुदायको अर्थपूर्ण प्रतिनिधित्व र सहभागिता सुदृढ गर्ने तथा संवाद र साझा सिकाइमार्फत अधिकारमा आधारित संरक्षणलाई व्यवहारमा कार्यान्वयन गर्ने व्यावहारिक उपायहरूको पहिचानमा केन्द्रित हुनेछ। उनका अनुसार राष्ट्रिय गोष्ठी श्रावण १० गते (आइतबार) आयोजना गरिनेछ।

यसैबीच, आदिवासी महिला कानुनी सचेतना समूहको आयोजनामा आदिवासी जनजाति महिला मानवअधिकार रक्षक सशक्तीकरण तालिम पनि आजदेखि सुरु भएको छ। तालिममा बाँके, बर्दिया, शुक्लाफाँटा, पर्सा, कोशी टप्पु, शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्ज, बफरजोन क्षेत्र तथा ढोरपाटन शिकार आरक्ष क्षेत्रका आदिवासी मानवअधिकारकर्मीहरूको सहभागिता रहेको संस्थाकी अध्यक्ष तथा अधिवक्ता इन्दिरा श्रीसले जानकारी दिइन् ।