• श्रावण ५ २०८३, मंगलवार

नेपालको कृषि–खाद्य प्रणाली सुदृढीकरणका निम्ति चिनियाँ सहयोगमा नयाँ परियोजना सुरु

श्रावण ४ २०८३, सोमबार

काठमाडौं । ‘नेपालमा कृषि–खाद्य प्रणालीको सुदृढीकरण’ परियोजना सुरु भएको छ । सोमबार (साउन ४) काठमाडौंमा एक कार्यक्रमबीच परियोजनाको शुभारम्भ गरिएको हो ।

नेपालको कृषि तथा खाद्य प्रणालीलाई थप प्रभावकारी र सुदृढ बनाउने उद्देश्यका साथ चिनियाँ सरकारको आर्थिक सहयोगमा यो परियोजना सुरु गरिएको नेपालका निम्ति चीनका राजदूत चाङ माओमिङले बताए । उनले दुई देशबीचको कृषि सहकार्यलाई थप उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे ।

अन्तर्राष्ट्रिय विकास सहयोगका निम्ति चिनियाँ निकायअन्तर्गतको ‘ग्लोबल डेभलपमेन्ट एन्ड साउथ–साउथ कोअपरेसन फन्ड’मार्फत यो परियोजना सञ्चालन हुन लागेको हो । परियोजना कार्यान्वयनका निम्ति संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन र नेपाल सरकारले समेत समन्वय र साझेदारी गर्नेछन् ।

राजदूत माओमिङले कृषि क्षेत्र नेपालको सामाजिक–आर्थिक विकास, खाद्य सुरक्षा र गरिबी निवारणको मुख्य आधार रहेको उल्लेख गरे । उनले चीन र नेपालबीचको भौगोलिक सामीप्यता र ऐतिहासिक सम्बन्धले कृषि क्षेत्रमा सहकार्यका व्यापक सम्भावना रहेको बताए ।

यसअघि पनि चीन सरकारको सहयोगमा नेपालमा विभिन्न कृषि योजना सञ्चालन भइसकेका छन् । त्यसअन्तर्गत ललितपुरको खोकनामा चिनियाँ तरकारी तालिम केन्द्र, झापामा पशुपालन तथा मत्स्यपालन सहयोग र चितवनमा उन्नत जातको हाइब्रिड धान खेतीजस्ता कार्यक्रमले नेपालको कृषि उत्पादकत्व बढाउन उल्लेख्य भूमिका खेलेको राजदूतले स्मरण गराए ।

चीनको सफलताको उदाहरण दिँदै उनले भने, “चीनले विश्वको मात्र ९ प्रतिशत खेतीयोग्य जमिन र ६ प्रतिशत स्वच्छ पानीको स्रोत प्रयोग गरेर विश्वको झन्डै २० प्रतिशत जनसंख्यालाई खाद्यान्न उपलब्ध गराउन सफल भएको छ । हामीले पूर्ण रूपमा गरिबी निवारण गर्दै कृषि आधुनिकीकरणमा हासिल गरेको अनुभव र प्रविधि नेपालसँग साझा गर्न प्रतिबद्ध छौँ ।”

यो नयाँ परियोजनाअन्तर्गत प्रविधि हस्तान्तरण, तालिम र ज्ञान आदानप्रदानका माध्यमबाट नेपाली कृषकको क्षमता अभिवृद्धि गर्ने र कृषि क्षेत्रको उत्थानशीलता बढाउने लक्ष्य राखिएको छ । यो सहकार्यले सन् २०३० सम्मको संयुक्त राष्ट्रसंघीय दिगो विकास लक्ष्य हासिल गर्न सहयोग पुग्ने र नेपाल–चीनमैत्री सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास लिइएको छ ।