काठमाडौं। हिमाली आदिवासी समाज, नेपाल (एसआईएल ग्लोबल)को आयोजना तथा थकाली महिला संघको समन्वयमा थकाली भाषा वर्णमाला पुनरावलोकन कार्यशाला सम्पन्न भएको छ।

कार्यशालाले थकाली भाषालाई पढ्न, लेख्न र सिक्न सहज बनाउने उद्देश्यका साथ थकाली भाषा लेखन निर्देशिका तथा वर्णमालालाई अन्तिम रूप दिएको हो ।

कार्यशालामा थकाली समुदायका भाषाविद्, अनुसन्धानकर्ता तथा अग्रजहरूले गहन छलफल र परामर्शपछि देवनागरी लिपिमा आधारित थकाली भाषा वर्णमालाको प्रारूपलाई परिमार्जन गरी पूर्णता दिएका हुन्। सहभागीहरूले मातृभाषाको संरक्षण, प्रवर्द्धन र नयाँ पुस्तामा हस्तान्तरणका लागि साझा प्रतिबद्धता व्यक्त गरेका छन्।

कार्यक्रममा बोल्दै थकाली महिला संघकी संस्थापक अध्यक्ष तथा सल्लाहकार एसो कान्ति भट्टचनले थकाली समुदायको आफ्नै लिपि नभएकाले पहिलो पटक तयार पारिएको वर्णमाला समुदायका लागि ऐतिहासिक उपलब्धि भएको बताइन्। उनले नेपालका धेरै आदिवासी जनजातिका मातृभाषा लोपोन्मुख अवस्थामा पुगेको उल्लेख गर्दै भाषा संरक्षणका लागि समुदाय स्वयं सक्रिय हुनुपर्ने धारणा राखिन्। साथै राज्य र अन्तर्राष्ट्रिय साझेदार संस्थासँग सहकार्य विस्तार गर्नुपर्नेमा पनि जोड दिइन्।

थकाली महिला संघकी अध्यक्ष कल्पना भट्टचनले लामो समयदेखिको प्रयासपछि हिमाली आदिवासी समाज नेपालको सहयोगमा थकाली भाषा वर्णमाला तयार गर्न सफल भएको बताउँदै यसलाई समुदायको पहिलो आधिकारिक लिखित दस्तावेजका रूपमा लिनुपर्ने बताइन्। उनले सरकारको मात्र प्रतीक्षा नगरी समुदाय आफैंले भाषा संरक्षणको जिम्मेवारी लिनुपर्ने र नयाँ पुस्तालाई मातृभाषा सिकाउनुपर्नेमा जोड दिइन्।

हिमाली आदिवासी समाज, नेपाल (एसआईएल ग्लोबल)की व्यवस्थापक तथा भाषिक अभियन्ता छिङ चिप्पा ल्होमीले करिब दुई दशकदेखि नेपालका लोपोन्मुख मातृभाषा संरक्षणमा काम गर्दै आएको उल्लेख गर्दै थकाली भाषालाई पुनर्जीवित बनाउन वर्णमाला निर्माण महत्वपूर्ण कदम भएको बताइन्।

थकाली महिला संघका महासचिव विपिन शेरचनले बसाइँसराइ, उच्च शिक्षा र रोजगारीका कारण मातृभाषा प्रयोग घट्दै गएको बताए। आफ्नै लिपि नभएकाले वर्णमाला तयार गर्न चुनौतीपूर्ण भए पनि अन्तर्राष्ट्रिय भाषिक संरचनाको आधारमा लेखन निर्देशिका तयार गरिएको जानकारी दिइन् ।

भाषाकर्मी डा.नेत्रमणि दुमी राईले नेपालका अधिकांश मातृभाषा लोपोन्मुख अवस्थामा रहेको उल्लेख गर्दै भाषा संरक्षणलाई अवसरका रूपमा लिनुपर्ने बताए। उनले समुदाय आफैं सक्रिय भए मात्र मातृभाषा दीर्घकालसम्म जीवित रहने धारणा व्यक्त गरे।

त्यसैगरी अशोक गौचन, सुशिला शेरचन, रामकृष्ण शेरचन, मनोजकुमार शेरचन, योगेन्द्रमान भट्टचन र ललित गौचन लगायतका वक्ताले मातृभाषा संरक्षणका लागि तीनै तहका सरकारको लगानी, विद्यालयमा मातृभाषा शिक्षाको व्यवस्था तथा घरपरिवारबाटै भाषा सिकाउने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका थिए।

कार्यशालामा प्रस्तुत प्राविधिक छलफलअनुसार थकाली भाषाको आफ्नै लिपि नभएकाले देवनागरी लिपि प्रयोग गरी लेखन निर्देशिका तयार गरिएको हो। भाषाविद्हरूले थकाली भाषामा ६ वटा स्वर ध्वनि र ३६ वटा व्यञ्जन ध्वनि प्रस्ताव गरेका छन्। यद्यपि व्यञ्जन ध्वनिको संख्या थप परिमार्जन गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।

कार्यशालाबाट तयार गरिएको थकाली भाषा लेखन निर्देशिकाको मुख्य उद्देश्य थाकखोला क्षेत्रमा बोलिने थकाली भाषाको लेखनमा एकरूपता कायम गर्नु, नेपाली भाषामा अभ्यस्त व्यक्तिलाई थकाली भाषा लेख्न–पढ्न सहज बनाउनु तथा औपचारिक र अनौपचारिक शिक्षामा मातृभाषाको प्रयोगलाई प्रोत्साहन गर्नु रहेको आयोजकले जनाएको छ।
कार्यक्रमको समापन गर्दै अध्यक्ष कल्पना भट्टचनले थकाली समुदायका लागि पहिलो पटक तयार भएको भाषा वर्णमाला निर्देशिका भविष्यमा मातृभाषा संरक्षणको महत्वपूर्ण आधार बन्ने विश्वास व्यक्त गर्दै सहयोग गर्ने सबै संस्था, भाषाविद् र सहभागीप्रति धन्यवाद ज्ञापन गरिन्।

उक्त भाषा वर्णमाला पुनरावोकलन कार्यशाला कार्यक्रममा भाषा विज्ञहरु थकाली महिला संघका अध्यक्ष कल्पना भट्टचन, महासचिव बिपिन शेरचन, सदस्यहरु प्रेमा शेरचन, इन्द्र कु. गौचन शेरचन, त्यसैगरी सल्लाहकार यसो कान्ती भट्टचन, थासाङ १३ मुखियाको सल्लाहकार अशोक गौचन, थकाली अनुसन्धान केन्द्रका अध्यक्ष योगेन्द्रमान भट्टचन, उपाध्यक्ष सुशिला शेरचन र सदस्य ललित गौचन, थकाली सेवा समिति नेपाल केन्द्रका सदस्य राम कृष्ण शेरचन, थकाली सेवा समिति काठमाडौंका उपसचिव मनोज शेरचन विष्णु शेरचन, निलम गौचन, पूर्ण प्रसाद तुलाचन र १३ मुखिया सुवर्ण गौचन रहेका थिए । pc by Roman Budha magar







