पृष्ठभूमि
बिडम्बना, आज यस्तो अवस्था सृजना भइसकेकोछ कि जुन काम कयामतपश्चात हश्रको दिन अल्लाह ताआलाले गर्नु हुनेछ । त्यो काम आजका मुसलमानले गरिरहेकाछन् । आम मुसलमानले यस्तो गरेमा भन्न सकिन्छ कि उसलाई त्यही ज्ञान छैन् त्यसैले बोलिहाले होला । तर यहाँ त ठुल्ठुला ओलेमा भनाउंदाहरु पनि मिजान ए अद्ल (अन्तिम न्यायको तराजू) हातमै लिएर एक अर्काको इमान जोख्दै बसिरहेका छन् ।
अलि कति उसको इच्छा विपरीत वा उसलाई मन नपर्ने काम कसैले गर्यो कि त्यसलाई काफिर भनेर ठोकुवा गरिहाल्ने गरी एकले अर्कामाथि काफिरको फत्वा ठोक्दैछन् । आलिम हुनुको घमण्ड यति सम्म बढेकोछ कि मानौं आलिम होईन् आफुलाई अल्लाह नै ठानिरहेकाछन् माजअल्लाह, अनि त अल्लाहले गर्ने काम आज आफुले गरिरहेका छन् । यी र यस्ता अन्य विषयमा समुदायलाई भ्रम नहोस् भनी यसै लेख मार्फत भ्रम चिर्ने सानो प्रयास गरिएको छ ।
हुन् त इस्लाम ज्ञान, न्याय, करुणा, विवेक, समता, समानतामा आधारित धर्म हो । जसमा पवित्र कुरआन मजीद र पैगम्बर मुहम्मद सल्लल्लाहु अलैहे व आला आलेही वसल्लमको अहलेबैत नै इस्लामका मूल आधार हुन् । तर समयका साथ नयाँनयाँ सामाजिक, आर्थिक र न्यायिक (कानुनी) प्रश्नहरू पनि उत्पन्न हुँदै गए । जसले गर्दा मुस्लिम विद्वानहरूले कुरआन र हदीसको प्रकाशमा ती विषयहरूको व्याख्या गर्दै फिक्ह (इस्लामी न्यायशास्त्र) को विकास गरे ।
त्यसै प्रक्रियाबाट फत्वा, इज्तिहाद, कियास र फिक्हको आधारमा मसलकहरूको स्थापना भयो । आज जब संसार डिजिटलाइज्ड र आधुनिक रुपमा विकसित हुँदै गइरहेकोछ । तब समयको माग अनुसार कुरआन र हदीसको प्रकाशमा ती विषयहरूको व्याख्या गर्दै फिक्ह (इस्लामी न्यायशास्त्र) को विकास गर्न आवश्यक देखिन्छ ।
जस्तै आजभोलि यूट्यूब लगायतका चैनलबाट आउने आम्दनी जायज कि हराम भनी मानिसहरुको मनमा दुविधा छ । जबकि कैयौं ओलेमाको आफ्नो नीजि यूट्यूब चैनल छ । फेसबुक, ट्यूटर, इन्स्टाग्राम, टिकटक लगायतका सामाजिक संजालमा नीजि आईडी छन् । आइडीमा ती ओलेमाहरुको फोटो र भीडियोहरु साझा गरिएका छन् । जबकि फतावा रजवियामा फोटो खिचाउन र टीभी हेर्न हराम लेखिएकोछ ।
व्याज इस्लाम हराम छ जब अधिकांश ओलेमाहरुका विभिन्न बैंकहरुमा बचत, मुद्दती र चलती खाताहरु छन् । कतिपय ओलेमाहरु यस विषयमा विभिन्न आरोपहरु लागिरहेका छन् । तिनले आफुलाई आले मुहम्मद औलादे अली इब्ने अबूतालिब र फातिमा सलामुल्लाहेका सन्तान र वंश भन्दा उत्कृष्ट अर्थात वारिसतुल अम्बिया भनिरहेका छन् ।
कसैले करबलाको युद्धलाई मनगढन्ते कहानी भनिरहेको छ । कसैले इमाम हुसैन अलैहिस्सलाम करबला किन गए जब बाकी सहाबा गएनन् भनी बयान गर्दैछ । कसैले यो गर्नुपर्छ भन्छन् कसैले त्यो गर्नु पर्छ भन्छन् । हजरत मुहम्मद मुस्तफा सल्ललाहो अलैहे व आला आलेही वसल्लमका काका हजरत अबूतालिब जसले जीवनभरि नबूवतको हिफाजत गरिरहे । उनको विषयमा समाज अन्यौलता कायमै छ ।
अर्थात इमान ए हजरत अबूतालिबको विषयमा समाज भ्रमित छ । कसैले उनलाई मोमिन भन्छन् कसैले भन्छन् कि उनले इमान ल्याएका थिएनन् आदि । समाज अहिले मानसिक रुपमा अस्थिर भइरहेकोछ । कसले भनेको कुरा पत्याउने कसले भनेका कुरा लत्याउने भन्ने अन्यौलमा छन् ।
यही कारण छ कि वर्तमान समयमा फत्वा, फिक्ह, तक्फीर तथा फतावालाई लिएर विभिन्न खालका भ्रम र विवादहरू सामाजिक संजालमा जताततै देखिन्छन् । कतिपयले कुनै एक विद्वानको फत्वालाई अन्तिम र अपरिवर्तनीय सत्य ठान्छन् अनि फिक्ह र थप फत्वाको आवश्यकतालाई नै अस्वीकार गरिरहेकाछन् । यस्तो अवस्थामा यी विषयहरूको वास्तविक अर्थ र सीमा बुझ्नु अति आवश्यक ठानेर यो लेख लेखिएकोछ ।
फत्वा
फत्वा भनेको कुनै योग्य (मारिफतमा पुगेका)
मुफ्ती वा इस्लामी विद्वानले धार्मिक वा शरीअती प्रश्नको उत्तरमा दिने शरीअतमा आधारित विधिक राय (Legal Opinion) हो । यो कुनै नयाँ दिव्य आदेश होइन् , न त कुरआन वा वहीको विकल्प हो । बरु कुरआन, सुन्नत, इज्मा र मान्य फिक्ही सिद्धान्तहरूको आधारमा प्रस्तुत गरिएको विद्वत्तापूर्ण एउटा निष्कर्ष हो ।
इस्लामी उसूल (कानुनी सिद्धान्त) अनुसार फत्वा कुनै योग्य मुफ्तीले विशेष परिस्थिति, समय, स्थान, प्रचलन तथा प्रश्नकर्ताको अवस्थालाई ध्यानमा राखेर दिएको शरीअती कानुनी राय हो । त्यसैले परिस्थिति, समय वा सामाजिक अवस्था परिवर्तन हुँदा फत्वा पनि परिवर्तन हुन सक्छ जस्तै: दाह्री पाल्नु सुन्नत हो तर जहाँको मौसम र प्राकृतिक परिवेश नै यस्तो कि दाह्री आउँदैन भने त्यहाँ एकमुठी दाह्री राख्नै पर्ने फत्वा दिन मिल्दैन् ।
अर्को उदाहरण जस्तै इस्लाममा कुर्ता पाजामा लगाउनु उत्तम पोशाक हो तर कुनै ठाउँमा यति बढी चिसो छ कि बाक्लो लुगा लगाउनुपर्ने बाध्यता छ अब त्यहाँ कुर्ता पाजामा लगाउनै पर्छ भनी फत्वा दिन मिल्दैन् ।
यसैगरी आजको डिजिटल युगमा जहाँ हरेक काम फोटो र भीडियो मार्फत गरिनु आवश्यक बन्दैछ त्यस्तो बेलामा फोटो हराम भनी फत्वा दिन मिल्दैन् किनकि विश्व स्तरमै अहिलेको प्रचलन फेरिएको छ । यसै सन्दर्भमा प्रसिद्ध फिक्ही सिद्धान्त छ: अर्थात् “समय, स्थान, अवस्था र प्रचलन परिवर्तन हुँदा फतवा परिवर्तन हुनुलाई अस्वीकार गर्न सकिँदैन।” त्यसैले फतवा परिस्थितिअनुसार बदलिन सक्छ, तर शरीअतको स्पष्ट र निश्चित आदेश परिवर्तन हुँदैन् ।
फिक्ह
फिक्हको कुरा गर्ने हो भने फिक्हको शाब्दिक अर्थ “गहिरो समझ वा ज्ञान” हो । इस्लामी सन्दर्भमा यसले शरीअतका व्यावहारिक नियमहरूको अध्ययन र व्याख्यालाई जनाउँछ । जस्तै नमाज, रोजा, जकात, हज, निकाह, तलाक(सम्बन्धविच्छद), व्यापार र उत्तराधिकार लगायतका विषयहरू फिक्हको क्षेत्रभित्र पर्दछन् ।
कुरआनमा भनिएको छ–
“र यो उचित होईन् कि सबै ईमानवालाहरू (एकैचोटि) निस्किहालून् । त्यसैले किन यस्तो हुन सकेन् कि उनीहरुको प्रत्येक टोलीबाट एक समुह निस्किनथ्यो । ताकि उनीहरु दीनको गहिरो ज्ञान (फिक्ह) हासिल गरुन् र जब आफ्नो समुदायमा फर्किए जाऊन् तब तिनीहरूलाई सचेत गरून् ताकी उनीहरू (अल्लाहको अवज्ञाबाट) बच्न सकून्।” (सूरह अत्-तौबा : ९:१२२) यस आयतले दीनको गहिरो अध्ययन गर्ने विद्वानहरूको आवश्यकता र महत्वलाई स्पष्ट गर्दछ।
कियास
कियासलाई सामान्य अनुमानसँग तुलना गर्नु उचित हुँदैन् । कियास भनेको कुरआन वा सुन्नतमा स्थापित कुनै आदेशलाई त्यससँग समान कारण भएको नयाँ विषयमा लागू गरेर शरीअती निर्णय निकाल्ने विधि हो । त्यसैले कियास फत्वा होइन्, फत्वा तयार गर्ने विधिमध्ये एक हो ।
फिक्ही मतभेद किन हुन्छ?
विभिन्न कालखण्डमा इस्लामी इतिहासमा विभिन्न योग्य विद्वानहरूले एउटै आयत वा हदीसको फरक फरक ढंगले व्याख्या गरेकै कारणले फिक्ही मतभेदहरू कायम भएका हुन् । यस्ता मतभेद इस्लामका आधारभूत विश्वास (अकिदा) मा नभई व्यवहारिक र कानुनी विषयहरूमा मात्रै केन्द्रित हुन्छन् ।
जस्तै: इमाम अबू हनीफा, इमाम मालिक, इमाम शाफेई र इमाम अहमद इब्न हम्बलका बीच अनेकौं फिक्ही मतभेद थिए । जस्तै उदाहरणका लागि कसैले रफियदैन गर्नुपर्छ भने, कसैले रफियदैन बिना नै नमाज पढ्न भनेकाछन् । तथापि उनीहरूले एकअर्काको विद्वत्ता, निष्ठा र ईमानको सम्मान गरेका थिए । यसले मतभेदलाई इस्लामी ज्ञान परम्पराको स्वाभाविक पक्षका रूपमा स्वीकार गरिएको देखाउँछ ।
फतावा रजविया
फतावा रजविया भारतीय उपमहाद्वीपका प्रसिद्ध विद्वान इमाम अहमद रजा खान बरेलवीद्वारा जारी गरिएका फत्वाहरूको संग्रह हो । बरेलवी मसलकमा यसलाई महत्वपूर्ण सन्दर्भ ग्रन्थका रूपमा लिईन्छ । यसमा इबादत, विवाह, तलाक, व्यापार, अकिदा तथा अन्य अनेक विषयमा फिक्ही रायहरू समावेश छन् ।
तर हामीले यो स्पष्ट रूपमा बुझ्न जरुरी छ कि फतावा रजविया कुरआन वा हदीस होइन् । यो एक प्रतिष्ठित विद्वानका फत्वाहरूको संग्रह मात्र हो । त्यसैले यसलाई नमान्नु वा कुनै विषयमा असहमत हुनु मात्रैले कुनै व्यक्तिको इमान वा पहिचान ( मुसलमान) समाप्त हुँदैन् वा काफिर हुँदैन् । फतावा रजवियासंग मदभेद रहेकै कारण कसैलाई सुलहकुल्ली, मुनाफिक वा काफिर आदि भन्नु अनुचित कार्य हो ।
आला हजरतसँग असहमति ईमान विपरीत हुनु नै हो त?
आला हजरत इमाम अहमद रजा खान बरेलवी (रहिमाउल्लाह) चाहिँ सुन्नी मुस्लिम समुदायका सम्मानित विद्वानमध्ये एक हुन् । उहाँका अनुयायीहरूले उनलाई उच्च सम्मान दिन्छन् । तर कुनै फिक्ही वा इज्तिहादी विषयमा उहाँसँग मतभेद राख्नु मात्रैले कसैको ईमान समाप्त हुँदैन् र इमान समाप्त हुन्छ भन्ने निष्कर्ष इस्लामी मूल स्रोतहरूले कदापि स्थापित गर्दैन् । तसर्थ मदभेद रहेकै कारण कसैलाई गलत भन्न मिल्दैन् । अनि इस्लामिक इतिहासमा रहेका विभिन्न इमामहरूबीच भएका मतभेदहरूले पनि यही कुरा पुष्टि गरेकाछन् ।
अन्य इस्लामिक किताब
जसरी इमाम अहमद रजा खान (रहिमहुल्लाह) ले लेखेको किताब फतावा रजविया सुन्नी इस्लामी फिक्ह र फत्वाको एक महत्त्वपूर्ण संग्रह हो । त्यसरी नै मुगल सम्राट औरंगजेब आलमगीरको आदेशमा भारतीय उपमहाद्वीपका अनेकौं हनफी उलेमाहरूले संयुक्त रूपमा संकलन गरेको किताब फतावा-ए-आलमगीरी (अल-फतावा अल-हिन्दिया) पनि फिक्ह र फत्वाको एक किताब हो । शाह अब्दुल अजीज देहलवी (रहिमहुल्लाह) ले लेखेको किताब फतावा-ए-अजीजी पनि इस्लामी विधिशास्त्रको फिक्ही अत्यन्त महत्त्वपूर्ण र प्रामाणिक ग्रन्थहरू संग्रह हो ।
फिक्हका अन्य किताब
अर्थात फतावा रजविया बाहेक पनि इस्लामी फिक्हका विभिन्न प्रमुख ग्रन्थहरू छन् । जसमध्ये बुरहानुद्दीन अल-मरग़ीनानी (रहिमहुल्लाह) ले लेखेको किताब “अल-हिदाया”, इब्न आबिदीन (रहिमहुल्लाह) को किताब “रद्दुल मुहतार”, अल-हस्कफ़ी (रहिमहुल्लाह) को “दुर्रुल मुख़्तार”, र इमाम शम्सुल अइम्मा सरख़सी (रहिमहुल्लाह) को “अल-मबसूत” विशेष रूपमा प्रसिद्ध र हनफी फिक्हका आधारभूत सन्दर्भग्रन्थका रूपमा विशेष रुपले अध्ययन गरिने किताबहरु हुन् ।
हदीसका किताब
पैगम्बर हजरत मुहम्मद मुस्तफा सल्ललाहो अलैहे व आला आलेही वसल्लमको पवित्रवाणी र उहाँले गरेका कार्यहरुलाई संयुक्त रुपमा जुन किताबमा जम्मा गरी लेखिन्छ त्यसलाई हदीस भनिन्छ। इस्लामका सबैभन्दा प्रसिद्ध हदीस संग्रहहरूमध्ये “सहीह अल-बुखारी” इमाम मुहम्मद बिन इस्माईल अल-बुखारी (रहिमहुल्लाह) ले लेखेका छन्।
“सहीह मुस्लिम” इमाम मुस्लिम बिन अल-हज्जाज अल-नैसाबूरी (रहिमहुल्लाह)ले लेखेकाछन् । “सुनन अबू दाऊद” इमाम अबू दाऊद सुलेमान बिन अशअस अस-सिजिस्तानी (रहिमहुल्लाह)ले लेखेका छन् । “जामे तिर्मिज़ी (सुनन तिर्मिज़ी)” इमाम मुहम्मद बिन ईसा अत-तिर्मिज़ी (रहिमहुल्लाह)ले लेखेका छन् । “सुनन नसाई” इमाम अहमद बिन शुऐब अन-नसाई (रहिमहुल्लाह)ले लेखेका छन् । “सुनन इब्न माजह” इमाम मुहम्मद बिन यज़ीद इब्न माजह अल-क़ज़वीनी (रहिमहुल्लाह)ले लेखेका छन् । यी छ वटै ग्रन्थहरू सुन्नी, शिया, अहलेहदीस, वहाबी लगायत सबैका लागि इस्लामका सबैभन्दा प्रामाणिक हदीस संग्रहहरूमध्ये पर्छन् ।
तफ्सीरका किताब
कुरआनको व्याख्या (तफ्सीर) गरी लेखेको किताबलाई तफ्सीर भनिन्छ । कुरआनको व्याख्या सम्बन्धी प्रसिद्ध ग्रन्थहरूमध्ये “तफ्सीर इब्न कसीर” इमाम इमादुद्दीन अबुल फ़िदा इस्माईल इब्न उमर इब्न कसीर अद-दिमिश्की (रहिमहुल्लाह) ले लेखेकाहुन् ।
“तफ्सीर जलालैन” दुई महान विद्वान इमाम जलालुद्दीन अल-महल्ली (रहिमहुल्लाह) र इमाम जलालुद्दीन अस-सयूती (रहिमहुल्लाह) द्वारा संयुक्त रूपमा लिखिएको किताब हो। त्यसैगरी तफ्सीर “अल-क़ुर्तुबी” इमाम अबू अब्दुल्लाह मुहम्मद बिन अहमद अल-अन्सारी अल-क़ुर्तुबी (रहिमहुल्लाह) ले लेखेका छन् । यी तफ्सीरहरू इस्लामी विद्वत् जगतमा अत्यन्त प्रतिष्ठित मानिन्छन् र आज पनि विश्वभरका मदरसा तथा इस्लामी शिक्षण संस्थाहरूमा यिनै तफ्सीरका किताबहरु अध्ययन र अध्यापन गरिदैंछ ।
ऐतिहासिक ग्रन्थ
विभिन्न कालखण्डमा रहेका इतिहास विद् वा इतिहासकारहरुले लेखेका प्रारम्भिक इस्लामी इतिहासका प्रमुख तथा प्रामाणिक ग्रन्थहरुलाई ऐतिहासिक किताब वा ग्रन्थ भनिन्छ । जस्तै ऐतिहासिक किताब ‘तारीख अल-तबरी’ इमाम तबरीले लेखेका छन् । ‘अल-बिदाया वन्निहाया’ इब्न कसीरले लेखेका छन्। ‘अल-कामिल फ़ित-तारीख़’ इब्न अल-असीरले लेखेका छन् । ‘तारीख-ए-याकूबी’ अल-याकूबीले लेखेका छन् ।’
मुरूज अल-ज़हब’ अल-मसूदीले लेखेका छन्। सहाबाहरूको जीवन अध्ययनका लागि अल-इस्तीआब, उस्द अल-ग़ाबा र अल-इसाबालाई महत्वपूर्ण स्रोत मानिन्छन् । त्यसैगरी करबला र इमाम हुसैन अलैहिस्सलामको बारेमा अध्ययनका लागि ‘मक़तल अल-हुसैन’ विशेषतः अबू मिखनफ़का रिवायतहरू तथा ‘अल-लुहूफ़’ सैय्यिद इब्न ताऊसले लेखेका प्रमुख ऐतिहासिक किताब हुन् । विभिन्न इतिहासकारहरूको दृष्टिकोण र रिवायतमा भिन्नता हुन सक्ने भएकाले तुलनात्मक अध्ययन गर्नु नै उपयुक्त मानिन्छ ।
तक्फीर भनेको के हो?
तक्फीर अत्यन्त संवेदनशील विषय हो जुनकि ता+काफिर मिलेर बनेको शब्द हो । कुनै मुसलमानलाई “काफिर” घोषणा गर्नु (तक्फीर) इस्लाममा अत्यन्त गम्भीर विषय मानिन्छ । मुफ्तीको दायित्व शरीअती प्रश्नमा राय दिनु हो । तर कुनै व्यक्तिको ईमान वा कुफ्रको निर्णय अल्लाहको अधीनमा छ । यसर्थ यस विषयमा अत्यन्त सावधानीका साथ मात्र गरिनुपर्ने विषय हो । रसूलुल्लाह (सल्लल्लाहु अलैहे व आला आलेही वसल्लम) ले फरमाउनुभएको छ–”जसले आफ्नो मुस्लिम भाइलाई ‘ए काफिर!’ भन्छ, त्यो शब्द ती दुईमध्ये एकतर्फ फर्कन्छ।” (सहीह अल-बुखारी, सहीह मुस्लिम)
यस हदीसले बिना प्रमाण कसैलाई काफिर भन्न नहुने स्पष्ट चेतावनी दिएको छ ।
हालको अवस्था
अधिकांश ओलेमाले अहिले यस्तो अवस्था सृजना गरिसकेका छन् कि स्टेजलाई अखाडा बनाइदिएका छन् । ओलेमाहरुले नै ओलेमा र नातख्वानहरुलाई स्टेजमाथि अहलेबैतको जिक्र गर्नबाट रोक्न थालेछन् । आफुलाई चित्त बुझेन भने एक आलिमले अर्को आलिमको अगाडिबाट माइक खोसिदिने माइक फालेर हानिदिने अनि स्टेजमै बसेर एक अर्काको चरित्रहत्या गर्ने कार्य दैनिक देखिने र भोगिने घटनाको रूपमा देखा परिरहेकाछन् ।
आफुखुशी जो कसैलाई पनि काफिर भन्न बेर लगाउँदैनन् । कसैले अली अली हुसैन हुसैन गर्यो भने लौ त शिया त काफिर भइस् भनिहाल्छन् । कसैले मुस्लिम इत्तेहाद अर्थात फिरका वारियत हटाएर सामुदायिक एकताको कुरा गर्यो कि ओहो त्यो फलाना त सुलहकुल्ली हो भनी फत्वा ठोकिदिन्छन् । कुनै वहाबीसंग हिँड्यो वा मित्रता कायम गर्यो कि यसको त निकाह नै टुटिहाल्यो भनी फत्वा दिने गरिरहेकाछन् । विशेष गरी सुन्नी आलिमहरुमध्येका केही आलिमहरुले फतावा रजवियामा लेखेको फत्वा मध्ये जुन फत्वा आफ्नो लागि फाईदाजनक हुँदैन् त्यसलाई नगर्न बढी जोड दिन्छन् जसमा आफ्नो फाईदा हुन्छ त्यो लागू गर्न थालेकाछन् ।
जस्तै: बैंकमा खाता खोल्ने जबकि बैंकले व्याजमै कारोबार गर्छ भनी थाहा पनि छ । यूट्यूब चैनल र फेसबुक इन्स्टाग्राम टिकटक र ट्यूटर लगायत सामाजिक संजालको प्रयोग गर्ने जबकि फतावा रजवियामा स्क्रीन भ्यूजुअल अर्थात टीभीलाई हराम लेखिएको छ । विभिन्न सामाजिक संजालमा आफ्नो फोटो र भिडियो सेयर गर्ने जबकि फतावा रजवियामा फोटो हराम लेखिएको छ । विवाह र रैलीमा डीजे साउण्ड सिस्टम लग्यो भने निकाह नपढाउने जुलुसलाई नै नाजायज भनिदिने जबकि डीजे भनेको साउन्ड सिस्टम हो । अनि आफु स्टेज, मश्जिदको मिम्बर र आफ्नो युट्युब चैनलमा बस्दा त साउन्ड सिस्टम लिएरै बस्ने गरेकाछन् ।
जुलुस ए मुहम्मदीमा त्यही सामग्री प्रयोग गरी काबा शरीफ र मदीना शरीफको नक्शा बनाएर लग्दा जायज हुने तर त्यही सामग्री प्रयोग गरी करबला शरीफको नक्शा ताजीया बनाएर लग्दा नाजायज भन्छन् । आफु कति नै ठुलो ज्ञाता भनी देखाउन बिना मतलब एउटा आलिमले अर्को आलिमलाई जनतामाझ झपार्नु, कसैको अगाडिबाट माईक नै तानेर लगिदिनु, आफ्नो मनको घृणा थाम्न नसकेर स्टेजमा बसेर आफ्नो विपक्षी आलिमलाई गाली गर्नु र उसको चरित्रहत्या आजभोलिको स्टन्डबाजी भइसकेको छ । ओलेमाका यिनै बयानबाजी स्टन्डबाजी र बिना सुरताल दिइने फत्वाकै कारण आज एकतिर आवामहरु (जनसमुदाय) आत्तिसकेकाछन् भने अर्को तिर कुन आलिम सही कुन आलिम गलत भनी अन्यौलताको सिकार भइसकेको छ ।
जबकि इस्लामको मूल आधार कुरआन मजीद र अहलेबैत हुन् । किनकि रसूलुल्लाहले हदीस ए सकलैनमा फरमाउनु भएकोछ: “म तिमीहरूका बीच दुई अत्यन्त मूल्यवान (महत्त्वपूर्ण) कुराहरू छोडेर जाँदैछु । पहिलो अल्लाहको किताब (कुरआन) हो, जसमा मार्गदर्शन र प्रकाश छ। त्यसैले अल्लाहको किताबलाई दृढतापूर्वक समातेर राख । दोस्रो मेरा अहलेबैत (मेरो परिवार) हुन् । म तिमीहरूलाई मेरा अहलेबैतका सम्बन्धमा अल्लाहलाई सम्झाउँदैछु, म तिमीहरूलाई मेरा अहलेबैतका सम्बन्धमा अल्लाहलाई सम्झाउँदैछु, म तिमीहरूलाई मेरा अहलेबैतका सम्बन्धमा अल्लाहलाई सम्झाउँदैछु।”
यो हदीस सहीह मुस्लिममा वर्णित छ। कुराआन र सुन्नतको सही ज्ञान वास्तवमा रसूलुल्लाहको घरबाट मिल्छ । यसै सन्दर्भमा रसूलुल्लाह (सल्लल्लाहु अलैहे व आला आलेही वसल्लम) ले फरमाउनुभएकोछ “अना मदीनलुत इल्म फा अलीयून बाबूहा अर्थात म ज्ञानको शहर हूँ र अली त्यसको ढोका हुन्” । तसर्थ जब जब इस्लामको कुरा आउँछ तब तब कुराआन र अहलेबैतको कुरा अवश्य नै आउँछ । कुरआनलाई मात्र स्वीकार गर्ने अहलेबैतलाई छाडिदिने वा अस्वीकार गर्ने हो भने हदीसको मुन्किर हुनु हो । तथापि आज मिम्बरबाट अहलेबैतको गरिमामाथि खुल्ला आक्रमण भइ रहेकाछन् । बिडम्बना त यहाँ यो छ कि अहलेबैतको तुलना अन्यसँग गरेर अहलेबैतको गरिमा घटाउनेहरुले पनि आफुलाई वारिसतुल अम्बिया भनिरहेका छन् । अनि समुदाय त्यसै मुखदर्शक भएर बसिरहेकोछ ।
लेखमा माथि उल्लेखित किताब र स्रोतहरूको गहिरो अध्ययनबाट विकसित भएको इस्लामी न्यायशास्त्र वा विधि नै फिक्ह हो । जबकि फत्वा योग्य विद्वानद्वारा दिइएको शरीअतमा आधारित विधिक राय हो । फतावा-ए-रजविया एक सम्मानित फिक्ही ग्रन्थ संग्रह भए तापनि यही नै इस्लाम र इमानको मूल र आधारभूत स्रोत होइन् । एक शब्दमा भन्ने हो भने इस्लाम र इमानको लागि नभइ नहुने होईन् स्रोत चाहिँ होईन् ।
निष्कर्ष
त्यसैले कुनै विशेष फिक्ही मत वा फत्वासँग असहमति राख्नु मात्रैले कुनै व्यक्तिलाई इस्लामबाट आफ्नो इच्छा अनुसार बाहिर ठहर गर्न मिल्दैन् । अर्थात फिक्ही मतभेदलाई ज्ञान, प्रमाण, सहिष्णुता र आपसी सम्मानका साथ बुझ्नु नै इस्लामको वास्तविक शिक्षा हो । कुरआन र सुन्नतले पनि न्याय, विवेक तथा संयम अपनाउन निर्देशन दिन्छन् । अतः मुस्लिम समाजमा एकता, सहिष्णुता र विद्वत्तापूर्ण संवादको संस्कृति विकास गर्नु आजको अपरिहार्य आवश्यकता बनिसकेको छ ।