• असार ३१ २०८३, बुधबार

मानव अधिकार सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

असार ३० २०८३, मंगलवार

नेपालगंज, साउन ३०। मानव अधिकार एलायन्सले आफ्नो स्थापना दिवसको अवसरमा मानव अधिकारसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले मानव अधिकार सम्बन्धी अभिमुखीकरण तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा मानव अधिकार, लैङ्गिक समानता, महिला अधिकार तथा उपभोक्ता अधिकारका विषयमा विशेषज्ञहरूद्वारा सहजीकरण गरिएको थियो। सहभागीहरूलाई संविधानले प्रत्याभूत गरेका मौलिक अधिकार, नागरिकका अधिकार तथा कर्तव्य, लैङ्गिक समानता र उपभोक्ता संरक्षणसम्बन्धी कानुनी व्यवस्थाबारे जानकारी गराइएको थियो।
एलायन्सका केन्द्रीय सदस्य शाहिदा बानो शाहले जेन्डर (लैङ्गिक पहिचान) र महिला अधिकार विषयमा सहजीकरण गर्दै महिला र पुरुषबीच समान अवसर, समान सहभागिता तथा समान व्यवहार सुनिश्चित गर्नु नै समतामूलक समाज निर्माणको आधार भएको बताइन्।
उनले लैङ्गिक विभेद, हिंसा तथा सामाजिक रूढीवादी सोचका कारण महिलाले अझै पनि विभिन्न क्षेत्रमा असमानताको सामना गर्नुपरेको उल्लेख गर्दै कानुनी अधिकारको प्रभावकारी कार्यान्वयनसँगै सामाजिक चेतनाको विकास आवश्यक रहेको धारणा राखिन् ।
महिला अधिकारलाई केवल महिलाको मुद्दाका रूपमा नभई समग्र समाजको विकास र मानव अधिकारसँग जोडिएको विषयका रूपमा बुझ्नुपर्नेमा उनले जोड दिइन्।
त्यसैगरी, अधिवक्ता बसन्त गौतमले उपभोक्ता अधिकार विषयमा सहजीकरण गर्दै प्रत्येक नागरिक सुरक्षित, गुणस्तरीय तथा मापदण्ड अनुसारका वस्तु र सेवा उपभोग गर्न पाउने अधिकार रहेको बताए।

उनले उपभोक्ताले आफ्ना अधिकारबारे सचेत हुनुपर्ने, बजारमा हुने ठगी, कालोबजारी, गुणस्तरहीन वस्तुको बिक्री वितरण तथा भ्रामक विज्ञापनविरुद्ध कानुनी उपचारको व्यवस्था रहेको जानकारी गराए।

यसै गरी अधिवक्ता सुरेश गौतमले मानव अधिकार विषयमा सहजीकरण गर्दै मानव अधिकार प्रत्येक व्यक्तिले जन्मसिद्ध रूपमा प्राप्त गर्ने अधिकार भएको जानकारी गराए । उनले नेपालको संविधान, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव अधिकारसम्बन्धी कानुनी व्यवस्था, मानव अधिकार संरक्षणमा राज्य र नागरिकको भूमिका तथा कानुनी शासनको महत्वबारे प्रकाश पारे।

लोकतान्त्रिक समाजको सुदृढीकरणका लागि मानव अधिकारको सम्मान, संरक्षण र प्रवर्द्धन अपरिहार्य रहेको उनको भनाइ थियो।

कार्यक्रममा विभिन्न पेशा, व्यवसाय तथा सामाजिक क्षेत्रसँग आबद्ध ३५ जनाको सहभागिता रहेको थियो। सहभागीहरूले कार्यक्रममार्फत मानव अधिकार, लैङ्गिक समानता र उपभोक्ता अधिकारसम्बन्धी ज्ञान तथा जानकारी प्राप्त भएको प्रतिक्रिया दिएका थिए। उनीहरूले यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याउँदै स्थानीय तहसम्म विस्तार गर्न सुझाव दिएका थिए।

कार्यक्रमको अन्त्यमा स्थापना दिवसको अवसरमा सहभागीहरूबीच शुभकामना आदानप्रदान गरिएको थियो। मानव अधिकारको संरक्षण, सामाजिक न्याय, समानता र कानुनी सचेतनालाई समुदायस्तरसम्म विस्तार गर्न यस्ता कार्यक्रमले सकारात्मक योगदान पुग्ने विश्वास आयोजकले व्यक्त गरेको थियो।