• बैशाख २६ २०८३, शनिबार

अबदेखि स्थानीय तहले पनि कम्पनी दर्ता गर्न र सेयर खरिद गर्न सक्ने

बैशाख २५ २०८३, शुक्रबार

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको कम्पनी रजिष्ट्रारको कार्यालयले अबदेखि स्थानीय तहहरूले पनि कम्पनी दर्ता गर्न र सेयर खरिद गर्न सक्ने व्यवस्था गरेको छ ।

विभिन्न स्थानीय तहहरूबाट सौर्य ऊर्जा लगायतका क्षेत्रमा कम्पनी स्थापना गरी सेयर लगानी गर्नका लागि अनुरोध आएपछि कार्यालयले यस्तो निर्णय गरेको हो । शुक्रबारको निर्णय अनुसार, स्थानीय तहले प्रचलित कानुनबमोजिम निश्चित सर्तहरू पूरा गरी कम्पनीको स्वामित्व लिन सक्नेछन् ।
यसका लागि स्थानीय तहले पालना गर्नुपर्ने मुख्य सर्तहरू तोकिएका छन् ।

“जसअन्तर्गत स्थानीय तहले कम्पनी दर्ता र लगानीसम्बन्धी विषयमा आफ्नै कानुन बनाएर आधिकारिक निर्णय गर्नुपर्नेछ । कम्पनी दर्ता र सेयर खरिद गर्दा कम्पनी ऐन, २०६३ तथा अन्य प्रचलित कानुनबमोजिमको प्रक्रिया पूरा गर्नुपर्नेछ,” कार्यालयले भनेको छ ।

कम्पनी रजिष्ट्रारको कार्यालयले सम्बन्धित सबै सरोकारवालाहरूलाई सूचनामार्फत जानकारी गराएको छ । यो व्यवस्था स्थानीय तहहरूलाई व्यावसायिक क्षेत्रमा लगानी गर्ने र आर्थिक रूपमा सबल बन्ने नयाँ अवसर हो ।