• बैशाख १२ २०८३, शनिबार

ट्रम्पले भनेकाे युद्दविराम नक्कली हाे, इजरेलमाथिकाे हाम्राे हमला जारी छ : इरान

चैत्र १० २०८२, मंगलवार

काठमाडौं । इजरायलमाथि इरानबाट नयाँ मिसाइल आक्रमण भएको इजरायली सेनाले जनाएको छ। सेनाले विज्ञप्ति जारी गर्दै इजरायलको भूभागतर्फ मिसाइल प्रहार भएको जनाएको हो। मिसाइल रोक्नका लागि वायु रक्षाप्रणाली सक्रिय रूपमा सञ्चालन भइरहेको इजरायली सेनाको दाबी छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा शत्रुता समाधान गर्न अमेरिका र इरान शान्ति वार्ता गरिरहेको दाबी गरेका थिए। ट्रम्पले अमेरिका र इरानबीच धेरै राम्रो छलफल भइरहेको बताएका हुन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिकी राष्ट्रपतिले दुई देशले युद्ध अन्त्य गर्न १५ बुँदामा छलफल गरिरहेको दाबी पनि गरेका छन्। जसमा इरानले नम्बर एक, दुई र तीन बुँदामा आणविक हतियार त्याग्ने उल्लेख छ।

सामाजिक सञ्जालमा लेख्दै ट्रम्पले इरानी पावर प्लान्टहरूमा धम्कीपूर्ण हमला पाँच दिनका लागि स्थगित गरेको बताएका छन् । तर, इरानको विदेश मन्त्रालयले दुई देशबिच शान्ति वार्ताको कुरा भएको भन्ने ट्रम्पको कुरा नक्कली रहेको जनाएको छ। इरानको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘हामी संयुक्त राज्य अमेरिका र इस्लामिक गणतन्त्र इरानबीच भइरहेको वार्ताको बारेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेको कुरालाई अस्वीकार गर्छौं।’
जवाफमा ट्रम्पले इरानलाई अर्को मौका दिइएको उल्लेख गरेका छन्।

यता एक घण्टाभित्र दोस्रोपटक कुवेतको सेनाले आफ्नो वायु रक्षा प्रणाली मिसाइल तथा ड्रोन आक्रमण रोक्न परिचालित गरिएको जनाएको छ। सेनाले सुरक्षा निकायले जारी गरेका निर्देशनहरू पालना गर्न सबै नागरिकलाई अनुरोध गरेको छ।