काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका प्रत्यक्ष र समानुपातिक सूचीमा रहेकामध्ये विदेशी पुरुषसँग विवाहित महिला उमेदवारको ‘रेकर्ड’ सार्वजनिक गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।
निर्वाचन आयोगले उक्त विवरण उपलब्ध नगराउँदा कतै उजुरबाजुर गर्न नसकिने अवस्था उत्पन्न भएको दाबीसहित अधिवक्ता राजकुमार सुवालले बुधबार (फागुन १३) रिट दायर गरेका हुन् ।
उक्त रिटमा बिहीबार (फागुन १४)का निम्ति सर्वोच्चमा सुनुवाइको पेसी तय भएको सुवालले जानकारी दिए ।
कानुनानुसार कसैले झुटो विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको अवस्थामा उजुरी दिन सकिन्छ । मतदाता नामावली ऐन, २०७३ को दफा १५ अनुसार उजुरी दिन सकिने व्यवस्था छ ।
तर, आयोगले विवरण उपलब्ध नगराउँदा सूचनाको अधिकारमाथि आघात पुगेको दाबी गर्दै सुवालले रिट दिएका हुन् । उनले यसअघि आयोगसँग रेकर्ड माग गर्दै सूचनाको हकअन्तर्गत निवेदन दिएका थिए ।
विदेशी पुरुषसँग विवाह गरेका महिला उमेदवारको अभिलेख नरहेका कारण उनीहरूको अयोग्यताका सम्बन्धमा दाबी–विरोध र उजुरी गर्नबाट सर्वसाधारण वञ्चित हुने अवस्था रहेको रिटमा उल्लेख छ ।
यही कारण विवादास्पद उमेदवारले उन्मुक्ति पाउने दाबीसहित सबै विवरण उपलब्ध गराउन माग गरिएको छ ।
विदेशी पुरुषसँग महिला उमेदवारको विवाह भएको अवस्थामा उक्त विवरण, विवाह मिति, त्यस्तो पुरुषको नाम, ठेगाना लगायत विवरण अविलम्ब सार्वजनिक नगरिए रिट निवेदनको औचित्य समाप्त हुन सक्ने भन्दै आयोगका नाममा तत्काल अन्तरिम आदेशको माग समेत गरिएको छ ।