• फाल्गुन २३ २०८२, शनिबार

लोकप्रियतावादको विषाक्तताबाट बचौं

फाल्गुन ११ २०८२, सोमबार

सामयिक टिप्पणी
लोकप्रियतावाद यति विषाक्त हुन्छ कि यसले उनीहरु र हामीहरु भनेर समाजलाई चरम उत्तेजनामा पुर्याएर विभाजित गर्छ र कित्ताकाट गर्छ । आफूसँग असहमतलाई राक्षसीकरण गर्छ । भिलेनको रुपमा प्रस्तुत गर्छ ।

यो अभियान शुरुमा भिन्न मत राख्ने दलबाट शुरु हुन्छ र उत्कर्षमा जात, रंग, भूगोल, लिङ्ग हुँदै वर्गमा पुग्छ र फासीवादको रुप धारण गर्छ ।

दुखद पक्ष के हो भने, लोकप्रियताको जगमा उभिएर उदाउँदो फासीवादलाई जमिन दिन चुपचाप फलानो छाप भन्ने विमर्श निरोधी प्रदुषित हौवाको पहिलो ग्राहक गरिखाने सिमान्त श्रमजीवी वर्ग हुन्छ र सत्ता प्राप्त गरिसकेपछि सम्भ्रान्त वर्गको पप्पिक्याटरुपी फासिष्ट पपुलिस्टहरुलाई सबैभन्दा गन्हाउने र मननपर्ने पनि तिनै गरिखाने श्रमजीवीहरु हुन्छन् ।

परिणामतः पपुलिस्ट एलिटहरुको सत्ताको पहिलो डण्डा अहिले चुपचाप फलानो छाप भन्ने हौवाको पहिलो ग्राहक बनेका यिनै श्रमजीवीहरुको टाउकोमाथि बज्रिनेछ । जतिबेला उनीहरुको टाउकोमा फासीवादी पपुलिस्टहरुको डण्डा बर्सिनेछ, त्यतिञ्जेलसम्म पश्चाताप गर्नपनि समय बाँकी रहनेछैन ।

अर्कोतिर किताबी मार्क्सवादीहरु फासीवादी र उदार लोकतन्त्रवादीमा भेद गर्न नसकेर शास्त्रीय जार्गनको सन्निपातको शिकार भएका हुन्छन् र उदाउँदो फासीवादलाई रोक्न उपलब्ध अन्तिम बिकल्प उपयोग गर्नुभन्दा कोठे मनोरञ्जना वितरण गर्न अग्रसर हुन्छन् ।

हिजो भारतमा चौविस क्यारेटका मार्क्सवादीहरुले कांग्रेस आइभन्दा विजेपीको पक्षपोषण गरे । तर, जव फासीवादी विजेपीको सत्ता बन्यो, बन्दुक बोक्ने माओवादी मात्रै होइन शहरमा विचारको डबलीमा उभिने सार्वजनिक बौद्धिकसमेत अर्वन नक्सालको रुपमा दमनचक्रमा पिसिए । जतिबेला यो सबै भयो, भारतीय वामपन्थी डबलीसँग सर्वस्व गुमाएर पश्चाताप र हिनताको कुण्ठाको तलाउमा नाकबुडी लगाउनुको विकल्प बाँकी रहेन ।

आज नेपालमा पनि उदाउँदो फासीवादलाई रोक्न तैबिसेक लोकतान्त्रिक शक्तिलाई बलियो बनाउन सकेको शक्ति लगाउने कि कोठामा बसेर शास्त्र पल्टाएर साम्यवादको सन्निपात बेच्ने भन्ने प्रश्न खडा भएको छ ।

०६२/०६३ को जनआन्दोलनमा किन नवउदारवादी पूँजीवादी शक्ति कांग्रेससँग मिल्नु पर्यो र आज किन ठीक त्यस्तै समय आइसकेको छ भन्ने बुझ्न नसक्ने हो भने क्रान्तिको चर्को कुरा गर्ने भाकपा माओवादीको महासचिव आफ्नो सचिवालय लिएर भाजपाको सत्तासँग आत्मसमर्पण गर्न गएको हालत दोहोरिनेछ । त्यो बखत सत्तासँग आत्मसमर्पण गर्ने सबैभन्दा पहिलो पंक्तिमा आज फेसबुकमा सबैभन्दा चर्को क्रान्तिकारी बनेर पेश हुने तिमीहरु नै हुनेछौ ।

आधारभूत लोकतन्त्र बच्यो भने विचार र दलको लडाइँ गर्दै गरौंला । लोकतन्त्रकै लागि लड्नुपर्ने अवस्था आउन नदिन उपलब्ध न्यूनतम खतरनाक बिकल्पको तलाउमा पौडी खेलेर पार हुनुको बिकल्प केही छ कि छैन, विमर्श गरौं । चुपचाप सन्निपात नबेचौं ।