• फाल्गुन २३ २०८२, शनिबार

हालसम्म ६७१ जना उम्मेदवारले मात्र खोले बैंक खाता

फाल्गुन ५ २०८२, मंगलवार

काठमाडौँ । फागुन २१ गते हुने निर्वाचनमा उम्मेदवार बनेका ६७१ जनाले मात्र अहिलेसम्म बैंक खाता खोलेका छन् । आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले तीन हजार ४०६ जना प्रत्यक्षतर्फका उम्मेदवारमध्ये हालसम्म ६७१ जनाले मात्र बैंक खाता खोलेको निर्वाचन आयोगको प्रणालीमा सूचना प्राप्त भएको जानकारी दिएका छन् ।

भूगोलअनुसार उम्मेदवारले २५ लाखदेखि ३३ लाखसम्म खर्च गर्न पाउने व्यवस्था गरिएको छ, उम्मेदवारको खाताबाट पैसा कता जान्छ भन्ने अनुगमन पनि यसपटक हुन्छ, आर्थिक अनुशासनका लागि यो व्यवस्था गरिएको हो ।

दुर्गम जिल्लाका सबै उम्मेदवारले बैंक खाता खोलिसक्दा सुगम जिल्लाका धेरै उम्मेदवारले अझै खाता नखोलेको पाइएको छ  । दल र उम्मेदवारले २५ हजारभन्दा बढी रकम बैंक खाताबाट लिने र खर्च गर्नुपर्ने व्यवस्था कार्यविधिमा उल्लेख छ ।फागुन २१ गते हुने निर्वाचनमा उम्मेदवारको खर्च बैङ्किङ प्रणालीबाट पारदर्शी हुने आयोगको दाबि रहेको छ ।

आयोगले हात, हातमा पैसा लिएर चुनावमा खर्च गर्न नपाइने व्यवस्था गरिएको जनाएको छ । आयोगले बनाएको निर्देशिका अनुसार राजनीतिक दल र उम्मेदवारले चुनावमा खर्च गर्न छुट्टै बैंक खाता खोल्ने व्यवस्था गरिएको छ ।

निर्वाचनमा भाग लिने दल र उम्मेदवारले पहिलेका चुनावमा बैंक खातामार्फत खर्च गर्नुपर्ने अनिवार्य गरिएको थिएन । यस वर्षदेखि भने दल र उम्मेदवारले निर्वाचन खर्च अनिवार्य बैंक खातामार्फत गर्नुपर्ने व्यवस्था लागू गरेको हो ।

त्यस्तै नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष सन्तोष कोइरालाले कतिपय उम्मेदवारको राष्ट्रिय परिचयपत्र नभएकै कारण खाता खोल्न नसकेको जानकारी दिएका छन् । राजनीतिक दल र उम्मेदवारले खर्च गर्ने संयन्त्र के हुने भन्ने पनि प्रष्ट पारिनुपर्ने उनको भनाइ थियो ।

आयोगले यसपटक गरेको यो व्यवस्थाले सम्पत्ति शुद्धीकरण र नेपाललाई ‘ग्रे लिष्ट’बाट हटाउनका लागि पनि सहयोग गर्ने विश्वास लिइएको छ । आगामी निर्वाचनहरुमा यो व्यवस्थालाई अझै परिष्कृत गर्दै लैजानुपर्नेमा जोड दिइएछ ।