काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नहुने स्पष्ट पारेका छन् ।
मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीसँग कुरा गर्दै कुनै पनि दलसँग गठबन्धन गर्नेबारे कुरा नभएको र नहुने बताएका हुन् ।
उनले पार्टी कामको क्रममा भारत भ्रमणमा गएको दाबी गर्दै सो क्रममा भारतीय जनता पार्टीका केही नेताहरूसँग अनौपचारिक छलफल भएको पनि बताए । उनले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह र राष्ट्रिय स्वतन्त्र पार्टीबीचको एकताले आफूहरू नडराएको पनि जिकिर गरे ।
आफू नेतृत्वको सरकारमा रास्वपा सभापतिलाई दुई पटक गृहमन्त्री बनाएको उल्लेख गर्दै उनीसँग कुरा गर्न कुनै आइतबार कुर्नु नपर्ने उनको टिप्पणी छ ।
“हामी रवि–बालेनको गठबन्धबाट बिल्कुल डराएका छैनौँ । रविलाई मेरै क्याबिनेटमा दुई चोटी गृहमन्त्री बनाएको हो । उहाँसँग कुरा गर्न मैले कुनै आइतबार पर्खनु पर्दैन । हामी डराएका पनि छैनौँ,” उनले भने ।
उनले आफूहरू कसैसँग नडराएको दोहोर्याउँदै आउँदो निर्वाचनमा नेकपा एक्लै जनतामाफ जाने पनि बताए ।