काठमाडाैं । रोल्पाको सुनछहरीमा विद्यार्थी बोकेको गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर ९ जना घाइते भएका छन् । सुनछहरी गाउँपालिका अध्यक्ष धनबहादुर पुनमगरले एक विज्ञप्ति जारी गर्दै दुर्घटनामा परी २ जनाको ज्यान गएको र ९ जना गम्भीर घाइते भएका र घाइतेहरु उपचारको क्रम चलिरहेको जानकारी गराएका छन् ।
दुर्घटनाको खबर पाएसँगै इलाका प्रहरी कार्यालय पोवाङबाट ६ जनाको टोली तत्काल घटनास्थलतर्फ खटाइएको थियो ।
पौष १९ गते बेलुका नमस्ते आशिरवाद यातायातको ग१ज ६६६६ नम्बरको जीप सुनछहरी—४ को सेरम र सिउरीको सिमानामा पर्ने किमलेघाट खोलामा दुर्घटना भएको थियो । उक्त जीपमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा सहभागी भएर फर्किएका श्री नेपाल राष्ट्रिय माविमा अध्ययनरत विद्यार्थी सवार थिए ।
दुर्घटनामापरी मृत्यु हुनेमा अन्दाजी १२ वर्षकी कक्षा ७ मा अध्ययनरत छात्रा दीपा पुनमगर र वर्ष ११ का कक्षा ५ अध्ययनरत सुनिल विश्वकर्मा रहेका छन् ।
त्यसैगरी दुर्घटनामा परी गम्भीर घाइते हुनेहरुमा अन्दाजी वर्ष २४ की शिक्षिका हस्तिरा विक, वर्ष २४ कै शिक्षिका अस्मिता विक, कक्षा १२ मा अध्ययनरत जमुना विक, कक्षा ५ मा अध्ययनरत हिमाल विक, कक्षा ९ मा अध्ययनरत सनी विक, कक्षा ९ मा अध्ययनरत किसन घर्ती, कक्षा ७ मा अध्ययनरत विपना घर्ती , कक्षा १० मा अध्ययनरत पवित्रा पुनमगर र कक्षा ५ मा अध्ययनरत अमृता पुनमगर रहेका छन् ।
घाइतेहरुलाई सुलिचौर प्राथमिक उपचार केन्द्रमा सामान्य उपचारपछि लुम्बिनी सिटी अस्पताल बुटवलमा रिफर गरिएको गाउँपालिकाले जानकारी दिएको छ । साथै गाउँपालिकाले दुर्घटनामा परी मृत्यु हुनेहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गरेको छ । साथै यस दुखद घडीमा पौष २० गतेका दिन शोक विदा दिएको पालिका अध्यक्ष पुनले जानकारी दिएका छन् ।