बुटवल । नेपालमा हायात ब्रान्डको तेस्रो होटेलको रूपमा रुपन्देहीको बुटवलमा ‘हायात प्लेस बुटवल’ को औपचारिक उद्घाटन गरिएको छ । पाहुनाहरू र ‘वर्ल्ड अफ हायात’ का सदस्यहरूका लागि महत्वपूर्ण मानिने बजारहरूमा विश्वव्यापी उपस्थिति विस्तार गर्ने क्रममा हायात प्लेस ब्रान्डले यो नयाँ होटेल सञ्चालनमा ल्याएको हो ।
यस नयाँ होटेलमा हायात प्लेस ब्रान्डको मौलिक डिजाइन, अनौपचारिक तथा आरामदायी वातावरण र निःशुल्क वाइ–फाइ तथा २४सै घण्टा खानाका परिकार जस्ता व्यावहारिक सुविधाहरू उपलब्ध छन् ।
हायात प्लेस बुटवललाई बिजनेस (व्यापारिक) र लेजर (फुर्सदको समय बिताउने) दुवै प्रकारका यात्रुहरूको विविध आवश्यकता पूरा गर्ने गरी तयार पारिएको छ, जहाँ आराम र काम बीचको सन्तुलन पाउन सकिन्छ ।
पाहुनाहरूको सत्कारमा केही कसर नछाड्ने हायातको मूल मन्त्रलाई आत्मसाथ गर्दै, हायात प्लेस होटेलहरूले शैली, नवीनता र २४सै घण्टा उपलब्ध हुने सुविधाहरूको संयोजन गरी आधुनिक व्यस्त यात्रुहरूका लागि सहज अनुभव प्रदान गर्दछन् ।
होटेलमा किंग र ट्विन रुमहरू, फरेस्ट भ्यू र हिल भ्यू विकल्पहरू सहित ३०० देखि ७७५ वर्ग फिट (२८ देखि ७२ वर्ग मिटर) सम्मका विभिन्न श्रेणीका कोठाहरू र फराकिला सुइटहरू उपलब्ध छन् । यस होटेलको मुख्य आकर्षण भनेको १,५६० वर्ग फिट (१४५ वर्ग मिटर) मा फैलिएको ‘प्रेसिडेन्सियल सुइट’ हो, जसले विशिष्ट पाहुनाहरूलाई उच्चस्तरीय अनुभव प्रदान गर्दछ । साथै, हायात प्लेस बुटवलमा १५० जनासम्म अटाउने ग्रान्ड बलरुम सहितको मिटिङ र कार्यक्रम स्थलहरू पनि उपलब्ध छन् ।
‘हामी हाम्रा पाहुनाहरूको अपेक्षाभन्दा माथि उठेर उत्कृष्ट आतिथ्य अनुभव प्रदान गर्न प्रतिबद्ध छौँ,’ हायात प्लेस बुटवलका जनरल म्यानेजर तुषार नगरले भन्नुभयो, ‘हाम्रा विशेष रूपमा डिजाइन गरिएका कोठाहरू, विविध खानपानका विकल्पहरू र फराकिला कार्यक्रम स्थलहरूले गर्दा हामी बिजनेस र लेजर दुवैखाले यात्रुहरूका लागि आदर्श गन्तव्य बनेका छौँ । पाहुनाहरू यहाँ काम गर्न, थकान मेटाउन, सम्मेलनमा भाग लिन वा विशेष अवसर मनाउन आउनुभएको होस्, हामी हरेक मोडमा सुविधा र आरामको मिलन हुने गरी स्वागतयोग्य वातावरण सिर्जना गर्न प्रयासरत छौँ । हाम्रो समर्पित टिम व्यक्तिगत सेवा प्रदान गर्न र हरेक बसाइलाई यादगार बनाउन उत्साहित छ, जसले बुटवलको मुटुमा एक प्रमुख रोजाइको रूपमा हाम्रो पहिचानलाई अझ बलियो बनाउनेछ ।’