काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले कुनै पनि अपराध विरूद्ध निर्मम भई सबै प्रहरी कर्मचारीहरूले आ-आफ्नो जिम्मेवारी व्यावसायिक रूपमा वहन गर्न निर्देशन दिएका छन् ।
नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामयिक विषयवस्तु लगायत प्रहरी गतिविधि र कामकाज सम्बन्धमा सोमबार प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक कार्कीले उक्त निर्देशन दिएका हुन् ।
महानिरीक्षक कार्कीले आपराधिक गतिविधिको सूचना संकलन तथा विश्लेषणमा थप सक्रियता अपनाउनु आवश्यक रहेको बताउँदै बस्तुनिष्ठ अपराध अनुसन्धान, सीमा नाकामा हुने तस्करी नियन्त्रण, हातहतियार बरामद, फरार प्रतिवादी पक्राउलाई समेत प्राथमिकतामा राखी थप सक्रिय भई कार्यसम्पादन गर्न निर्देशन दिए ।
सबै प्रहरी कर्मचारीहरूले शिष्ट बोली, बचन एवम् व्यवहारका साथ नागरिकका गुनासो सम्बोधन गर्न क्रियाशील हुनुपर्ने बताउँदै आ-आफ्नो जिम्मेवार क्षेत्रहरूमा सुरक्षा व्यवस्थापनको निम्ति आवश्यक सुरक्षा योजना निर्माणका साथै स्थानीय तह एवम् सरोकारवाला सबै पक्षहरूसँग समन्वय र सहकार्य गरी व्यावसायिक, उत्तरदायी एवम् जवाफदेही प्रहरी सेवा प्रवाह गर्नुपर्नेमा उनले जोड दिए ।
आसन्न निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउन आवश्यक सुरक्षा रणनीतिहरू अवलम्बन गरी कार्यान्वयन गर्न समेत उनले निर्देशन दिए ।
कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशिलसिंह राठौर र कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमाप्रसाद चतुर्बेदीले समेत समसामयिक विषयमा निर्देशन दिएका थिए ।