काठमाडौं । मधेस प्रदेससभाको बैठक चलिरहेको समयमा नेकपा (माओवादी केन्द्र)का प्रदेश सांसद रहबर अन्सारीले आफ्नो अनुहारमा कालोमोसो दलेका छन् ।
शनिबार (कात्तिक २२) मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिन डाकिएको बैठकमा उनले प्रदेशसभामा रहेका कुनै पनि सदस्यसँग सरकारको नेतृत्व गर्ने नैतिक आधार नरहेको टिप्पणी गरे । त्यसपछि उनले विश्वासको मत नदिने भन्दै आफ्नो अनुहारमा कालोमोसो दलेका हुन् ।
प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै सदस्यले जनताको मर्मानुसार काम गर्न नसकेको उनले उल्लेख गरे । वर्तमान प्रदेशसभामा रहेका सदस्यले निकास दिन नसक्ने उनको भनाइ थियो ।
“आज हामी सबैले गल्ती स्वीकार गर्ने समय आएको छ, अहिलेका हामीमध्ये कोहीसँग सरकारको नेतृत्व गर्ने अधिकार छैन,” उनले भने ।
अन्सारीले बोलेलगत्तै माओवादी केन्द्रकै प्रदेशसभा सदस्य माला कर्णले पनि विश्वासको मत नदिने घोषणा गरिन् । उनले प्रदेश सरकारलाई केन्द्रले नै नियन्त्रण गरिरहेको बताइन् । आफू केन्द्रको निर्णयानुसार अगाडि बढ्न नसक्ने उनले उल्लेख गरिन् ।