काठमाडौँ । स्वास्थ्य सेवा विभागको मेमोग्राफी मेसिन खरिद प्रक्रियामा अनियमितता गरी भ्रष्टाचार गरेको आरोपमा तत्कालीन महानिर्देशक डा. संगीता कौशल मिश्रसहित १४ जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर भएको छ।
ठेक्का प्रक्रियामा लागत अनुमान तयार गर्दादेखि भुक्तानी दिँदासम्म मिलेमतो गरी राज्यलाई करिब १४ करोड रुपैयाँभन्दा बढी नोक्सानी पुर्याएको आरोप लागेको छ ।
भ्रष्टाचारका मुख्य आधारः
लागत अनुमानमा मिलेमतोः
ठेक्का प्राप्त गर्ने म्याक्सिम ईनकर्पोरेशन ट्रेडर्स प्रा.लि. को संस्थापक सुन्दर भुसाल संस्थापक रहेको अर्को कम्पनी शुभ बायोमेडिकल कन्सर्न प्रा.लि. बाट दररेट मगाई त्यसैलाई आधार मानेर लागत अनुमान तयार गरिएको, जुन अस्वाभाविक रूपमा बढी थियो । स्वीकृत लागत अनुमान करबाहेक रु. १२ करोड ७५ लाख थियो, जबकि आपूर्तिकर्ताले रु. १२ करोड ५५ लाखमा ठेक्का कबोल गरेको थियो । उत्पादक कम्पनीलाई भुक्तानी हुने कूल मूल्य करिब रु. ६ करोड ८५ लाख मात्र रहेको पुष्टि भएको छ ।
बोलपत्रको प्रक्रिया सुरु हुनुअघि नै आपूर्तिकर्ताले उत्पादक कम्पनीबाट प्रोफोर्मा इनभ्वाइस (Proforma Invoice) लिएको पाइएको, जसबाट राष्ट्रसेवकहरूले गोप्य विवरण चुहावट गरेको पुष्टि भएको छ ।
झुट्टा प्रतिवेदनका आधारमा भुक्तानीः
सम्झौताको शर्तअनुसार सम्पूर्ण सामान नआएको (पहिलो चरणमा एसेसरिज मात्र आएको) अवस्थामा पनि मिलेमतोमा झुट्टा ‘Post Shipment Inspection (PDI) Report’, दाखिला प्रतिवेदन, र ’झुट्टा बिल बिजक’ तयार गरी सम्पूर्ण भुक्तानी (रु. १३ करोड ३७ लाख ८३ हजार) दिइएको । दोस्रो चरणको मेसिनहरू पछि मात्र भन्सारमा आएको थियो ।
क्षतिपूर्ति रकम हिनामिनाः
दोस्रो चरणको सामान तोकिएको समय (मिति २०८१ असार १० गते) भन्दा करिब ११ हप्ता ढिलो आउँदा पनि ठेक्काको शर्तबमोजिमको रु. ६९ लाख २ हजार ५ सय क्षतिपूर्ति रकम राज्यकोषमा दाखिला नगरी नोक्सानी गराएको ।
प्रमाण लुकाउने प्रयासः
मेमोग्राफी मेसिन आयातको सम्बन्धमा ड्राइपोर्ट कस्टम अफिस, सिरसिया वीरगञ्जलाई स्वास्थ्य सेवा विभागबाट लेखिएको पत्र फाइलमा नभेटिएको भनी प्रमाण मेटाउने प्रयास गरेको ।
यसरी, प्रतिवादीहरूले आफ्नो पदको दुरुपयोग गरी नेपाल सरकारलाई गैरकानूनी हानि–नोक्सानी पुर्याई आफूहरूलाई गैरकानूनी लाभ लिएको देखिएको छ ।
आरोपपत्र दायर गरिएका प्रमुख व्यक्तिहरू (१४ जना) :
डा. संगीता कौशल मिश्रा (तत्कालीन महानिर्देशक)
डा. श्रवण कुमार थापा (व्यवस्थापन महाशाखाका निर्देशक)
डा. विवेक कुमार लाल (निर्देशक)
डा. सुरेन्द्र प्रसाद चौरसिया (वरिष्ठ स्वास्थ्य प्रशासक)
भुवन प्रसाद काफ्ले (प्रमुख लेखा नियन्त्रक)
सुन्दर भुसाल (म्याक्सिम ईनकर्पोरेशन ट्रेडर्स प्रा.लि. का संस्थापक/संचालक) लगायत अन्य कर्मचारी र इन्जिनियरहरू ।
उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) का विभिन्न खण्ड र दफा १९ को उपदफा (२) समेतको कसुरमा सजाय मागदाबी लिइएको छ । कुल बिगो रकम रु. १४ करोड ६ लाख ८५ हजार ५ सय तोकिएको छ ।