• फाल्गुन २७ २०८२, बुधबार

जेनजी प्रदर्शनमा आपराधिक गतिविधि गर्ने ८३ जना प्रहरी नियन्त्रणमा

आश्विन ३० २०८२, बिहीबार

काठमाडौं । जेनजीको नाममा विभिन्न व्यक्तिलाई धम्क्याउँदै हिड्ने अर्जुन शाहीलाई प्रहरीले बुधबार साँझ पक्राउ गर्‍यो । काठमाडौं प्रहरीको विशेष टोलीले शाहीलाई कोटेश्वरबाट पक्राउ गरेको हो ।

अछामको पञ्चदेवल घर भएका २६ वर्षीय शाहीले पछिल्लोपटक विभिन्न सरकारी कार्यालयमा पुगेर धम्क्याउने कार्य गर्दै आएका थिए ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले शाही विभिन्न अपराधका घटनामा जोडिएको देखिएकाले अनुसन्धान जारी रहेको बताए । शाहीलाई आज थुनामा राखेर अनुसन्धान गर्न अदालतबाट अनुमति लिने प्रहरीको तयारी छ ।

प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शाहीबाहेक प्रहरीको एसएलआर लुटेर विभिन्न ठाउँ पुग्ने समीर भनिने राजु परियारलाई समेत पक्राउ गरेको छ ।

मंगलबार राति परियारलाई ललितपुरबाट पक्राउ गरेको प्रहरीले बताएको छ । परियार आपराधिक पृष्ठभूमिका युवा भएको खुलेको छ । उनीविरुद्ध यसअघि नै प्रहरीले विभिन्न ८ वटा कसुरमा अनुसन्धान गरेको खुलेको छ ।

प्रहरीले परियारलाई भिडियो तथा फोटोको आधारमा अनुसन्धान गर्दै जाँदा पक्राउ परेको कार्यालयका एसपी काजीकुमार आचार्यले जानकारी दिए ।

दुई दिनअघि मात्रै काठमाडौं प्रहरीले जेनजी आन्दोलनका क्रममा बूढानीलकण्ठबाट मूर्ति चोरी गर्ने चितवनका विजय लामालाई पनि पक्राउ गरेको थियो ।

बूढानीलकण्ठ–६ च्यासिन बस्दै आएका लामाले आइफोन–१४ प्रो म्याक्ससहित बुद्ध मूर्ति, गणेशको मूर्ति र सिङगिङ बौल चोरी गरेको खुलेपछि प्रहरीले पक्राउ गरेको हो । उनीमाथि समेत प्रहरीले अनुसन्धान थालेको छ ।

उनीहरूबाहेक प्रहरीले जेनजी प्रदर्शनका क्रममा विभिन्न ठाउँमा लुटपाट, चोरी तथा प्रहरीको हतियार लुटपाट गर्नेविरुद्ध अनुसन्धान थालेको छ ।

काठमाडौं प्रहरीले हालसम्म ८३ जनालाई पक्राउ गरिसकेको छ । पक्राउ परेका १९ जनाविरुद्ध काठमाडौंले हातहतियार खरखजना मुद्दामा अनुसन्धान थालेको छ ।

तर, उनीहरुलाई हाजिरी जमानीमा छाडिएको छ । यसरी नै ५२ जनाविरुद्ध प्रहरीले उपद्रव कसुरमा अनुसन्धान थालेको छ । उनीहरूलाई पनि हाजिरी जमानीमा छाडिएको छ । उनीहरूबाहेक हाल १२ जनालाई भने प्रहरीले थुनामा राखेर अनुसन्धान थालेको छ ।

यसरी नै भदौ २४ गते आपराधिक गतिविधि गर्ने २३ जनालाई ललितपुर प्रहरीले पक्राउ गरेको थियो । उनीहरू पनि हाजिरी जमानिमा छाडिएको छ । भक्तपुर प्रहरीले पनि आपराधिक गतिविधिमा संलग्नमाथि अनुसन्धान गर्दै आएको छ ।

तर, गृह मन्त्रालयले भने प्रहरीलाई जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधिमा संलग्नलाई कानुनी दायरामा नल्याउन दबाब दिइरहेको छ । त्यसका लागि गृह मन्त्रालयमै जेनजी डेस्कसमेत राखिएको छ ।

गृहमन्त्रालयले असोज ९ गते नै जेनजी आन्दोलनबारे छानबिन गर्न न्यायिक आयोग बनेकाले त्यसको आधारमा मात्रै कारबाही गर्नुपर्ने भन्दै विज्ञप्ति जारी गरेको थियो । सोही विज्ञप्तिपछि प्रहरीले पक्राउ परेका आरोपीहरू छुटेका हुन् ।

प्रहरी प्रधान कार्यालयले जेनजीका नाममा आपराधिक गतिविधिमा संलग्न ३६ हजारभन्दा भिडियो संकलन गरेको छ ।

प्रदर्शनका क्रममा प्रहरीको एक हजारभन्दा बढी हातियार लुटिएको थियो । केही बरामद भए पनि अझै ठूलो सख्यामा हराएका छन् ।