• फाल्गुन २६ २०८२, मंगलवार

प्रधानमन्त्रीसँग ‘जेनजी’ आन्दोलनपीडितको माग– ५० लाख क्षतिपूर्ति, सचिवसरह पेन्सन

भाद्र ३० २०८२, सोमबार

काठमाडौं । यही भदौ २३ गते ‘जेनजी’को आन्दोलनमा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएकाका परिवारले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष आठबुँदे माग पेस गरेका छन् ।

पीडित परिवारले आइतबार (भदौ २९) प्रधानमन्त्रीसमक्ष पेस गरेको मागपत्रमा भनिएको छ, “मिति २०८२ भदौ २३ गते जेनजीको शान्तिपूर्ण आन्दोलनको क्रममा बलिदान, सहादत हुने पीडित परिवारहरूको तर्फबाट सामूहिक रूपमा तपसिलबमोजिमका मागहरू मन्त्रिपरिषद्मा निर्णयार्थका लागि मागपत्र पेस गर्दै उक्त मागहरू तत्काल पूरा गरिदिनहुन तपाईं सम्माननीय प्रधानमन्त्रीज्यूसमक्ष पेस गरेका छौँ ।”

प्रधानमन्त्री कार्कीले सोमबार (भदौ ३०) ती माग ‘आवश्यक कारबाही अगाडि बढाइदिनू’ भन्दै मुख्यसचिवलाई सम्बोधन गरी तोक लगाएकी छन् ।

पीडित परिवारको पहिलो माग भदौ २३ गतेलाई ‘जेनजी राष्ट्रिय दिवस घोषणा गरियोस्‌’ भन्ने छ । दोस्रो मागमा ‘भदौ २३ र २४ गतेको शान्तिपूर्ण जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त गर्ने सम्पूर्ण मृतकलाई राष्ट्रिय सहिद घोषणा गरियोस्‌’ भन्ने छ ।

पीडित परिवारको तेस्रो मागमा ‘सम्पूर्ण मृतकको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिनुका साथै राष्ट्रिय शोकका रूपमा राष्ट्रिय झन्डा ३० दिन आधा झुकाइयोस्‌’ भन्ने छ ।

“सम्पूर्ण मृतकहरूको परिवारलाई कम्तीमा ५० लाख क्षतिपूर्तिको व्यवस्थाका साथै नेपाल सरकारको सचिवसरह आजीवन पेन्सनको व्यवस्था गरियोस्,” पीडित परिवारको चौथो माग छ ।

पीडित परिवारको पाँचौँ माग ‘सम्पूर्ण मृतकको अस्पतालदेखिकै सबै प्रक्रिया पूरा गरी श्रद्धाञ्जली सभा गरी राष्ट्रिय सम्मानका साथ चक्रपथ शवयात्रा परिक्रमा गराई परिवारलाई हस्तान्तरण गरियोस्‌’ भन्ने छ ।

“सम्पूर्ण मृतक शवहरूको उहाँहरूको गृहजिल्लामा सैनिक हेलिकोप्टरबाट पुर्‍याउनुपर्ने र गृहजिल्लामा पनि शवयात्राको व्यवस्था गर्नुका साथै काजक्रिया खर्चबापत रु. एक लाख तत्कालै उपलब्ध गराइयोस्,” छैटौँ मागमा भनिएको छ ।

सातौँ मागमा ‘मृतक परिवारका आमाबाबु, श्रीमान्श्रीमती, सगोल दाजुभाइ, बालबच्चालाई उचित लालनपालन, रोजगारी, स्वास्थ शिक्षा र भत्तालगायत सम्पूर्णको व्यवस्था सुनिश्चित गराइयोस्‌’ भन्ने राखिएको छ ।

“गोली हान्न आदेश दिने तथा हिंस्रक दमनमा संलग्न सुरक्षा निकायका प्रमुख, प्रमुख जिल्ला अधिकारी, फिल्ड कमान्डरलगायत अन्य दोषी पत्ता लगाई तत्काल निलम्बन गरी हदैसम्मको कारबाही गरियोस्,” पीडित परिवारको आठौँ माग छ ।