• फाल्गुन २६ २०८२, मंगलवार

आज मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री सुशीला कार्की,को-को बन्दैछन् मन्त्री ?

भाद्र २९ २०८२, आईतवार

काठमाडौं ।  नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज आइतबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी छन् ।

शुक्रबार राति प्रधानमन्त्रीको शपथ लिएकी कार्कीले आवश्यक छलफलपछि आइतबार सानो आकारको मन्त्रिपरिषद् विस्तार गर्न लागेकी हुन् ।

यसअघि जेनजी पुस्ताको भोटिङबाटै कार्कीलाई प्रधानमन्त्री बनाउने निर्णय भएको थियो । प्रधानमन्त्री जस्तै मन्त्री चयन पनि भोटिङकै आधारमा गर्ने तयारीमा जेन्जीहरू छन् । मन्त्रीको लागि कुलमान घिसिङ र ओमप्रकाश अर्यालको नाम चर्चामा छ ।

राजनीतिक दलभन्दा बाहिरैबाट मन्त्री चयन गर्ने तयारी उनीहरूको छ ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले आइतबार सानो आकारको मन्त्रिपरिषद् बनाउने जस्तो जानकारी आफूहरूले पाएको बताए ।

राष्ट्रपति रामचन्द्र पौडेलसँगको छलफलमा अन्य राजनीतिक दलहरूले पनि जेनजी पुस्ताको मागअनुसार, चुनावी सरकारको गठनमा सहमति दिएका थिए ।

त्यसपछि शुक्रबार राति राष्ट्रपति पौडेलले कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । शुक्रबार नै कार्कीले पद तथा गोपनीयताको शपथग्रहण गरेकी थिइन् ।

शपथपछि कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले प्रतिनिधिसभा विघटन गरेका थिए ।

आगामी फागुन २१ गते प्रतिनिधिसभाको चुनाव गराउने शर्तमा कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाइएको हो ।

तर नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहितका दलले संसद् विघटनप्रति असन्तुष्टि जनाएका छन् । संविधानभित्रैको प्रक्रियाबाट कार्कीलाई प्रधानमन्त्री बनाउन सकिने र संसद् कायम नै राख्न सकिने अवस्था रहेको भन्दै उनीहरूले असन्तुष्टि जनाएका हुन् ।

जेनजीको आन्दोलनपछि केपी शर्मा ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएपछि कार्कीलाई अन्तरिम सरकारको नेतृत्वमा ल्याउने समझदारी भएको थियो ।