काडमाडौं । भाद्र कृष्ण अष्टमीका दिन मनाइने यो पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाइँदैछ ।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापर युगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले यस दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ ।
आज श्रीकृष्ण जन्माष्टमीको अवसरमा विभिन्त्र मन्दिरहरुमा भक्तजनहरुको घुइँचो लागेको छ । विशेषगरी पाटनको कृष्ण मन्दिर, थमेलको कालेश्वर मन्दिर परिसरमा विहानैदेखि श्रद्धालुहरुको भीड लागेको छ । पूजा, व्रत, भजन र झाँकीको माध्यामबाट भक्तजनहरु भगवान श्रीकृष्णको जन्मोत्सव मनाउने चलन रहिआएको पाईन्छ ।
श्रीमद्भागवद पुराण अनुसार, द्वापर युगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भगवान श्रीकृष्णको जन्म मथुरामा भएको थियो । अत्याचारी कंशको विनाशका लागि बासुदेव र देवकीका पुत्रका रुपमा जन्मीएका श्रीकृष्णले धर्म र सत्यको स्थापना गर्नु भएको धार्मिक विश्वास रहिआएको छ ।
पाटनको ऐतिहासिक कृष्ण मन्दिरमा विगतझै यसपालि पनि भक्तजनहरुको भीड लागेको छ । साँझमा विशेष दीप प्रज्वलन र भजनसन्ध्या कार्यक्रम गरी मनाउने चलन रहेकोछ । स्थानीय युवाहरुले श्रीकृष्णका लीला झल्काउने सांस्कृतिक झाँकी प्रदर्शन गरिरहेका छन् । बालजुस्थित श्रीकृष्ण मन्दिरमा विशेष पूजाआजा आयोजना गरिएको छ । थमेलमा कृष्ण भजन र कीर्तन गर्दै युवा समुहहरुले सांगीतिक वातावरण सिर्जना गर्नुका साथै होटल र रेस्टुरेन्टहरुले समेत ‘कृष्ण जन्माष्टमी स्पेशल’ मेनु उपलब्ध गराएका छन् ।
गीता उपदेशमार्फत श्रीकृष्णले जीवनको कर्म, धर्म र निर्लिप्तताको भाव सिकाउनु भएको छ । आजको समाजमा सत्य, नैतिकता र दायित्वका कुराहरु झनै महत्वपूर्ण बन्दै गएका छन् । कृष्ण जन्माष्टमी यस्तो अवसर हो । जसले युवालाई उद्देश्य बुझ्न प्रेरणा दिन्छ । नेपालमा मात्र नभई भारतलगायत विभिन्त्र मुलुकमा पनि यो पर्व भव्य रुपमा मनाउने चलन चल्दै आएको जनविश्वास रहेको छ ।