“हाम्रो मौलिक कला र सांस्कृतिक हाम्रो पहिचान” भन्ने मूल नारा सहित गाईजात्रा तथा रोपाईजात्रा (घोनाई) जात्रा कार्यक्रम काठमाडौंको बौद्धमा हुने तय भएको छ।

श्री बौद्ध तामाङ कल्याण गुठीले यहि श्रावण २५ र २६ गते गाईजात्रा तथा रोपाइँजात्रा सहित विभिन्न कार्यक्रम गर्ने जनाएको छ । गुठीले साउन २२ गते आयोजना गरेको पत्रकार सम्मेलनमा मूल समारोह समितिका संयोजक तथा गुठीका अध्यक्ष जयमंगल लामाले सो कुराको जानकारी दिएको हो।
जात्रा कार्यक्रमलाई भब्य तथा सभ्य रुपमा व्यवस्थित बनाउन गाईजात्रा तथा रोपाइँजात्रा (घोनाई) जात्रालाई सफल पार्न मूल समारोह समिति–२०८२ गठन गरिएको समेत उनले पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै संयोजनक लामाले जात्रा कार्यक्रमकालागि मूल समारोह समिति मार्फत विभिन्न उपसमिति तथा कार्य समिति विभाजन गरी कार्यक्रमको बारेमा बताए । २ दिन सम्म हुने जात्रा कार्यक्रम लाखे, रोपार, बाउसे, हाँस्यव्यङ्ग्य, घोडा, जोगी, झाँकी आदि प्रस्तुतिहरू गरिने पनि उनले जानकारी दिए। पत्रकार सम्मेलनमा पत्रकारहरुले सोधेको प्रश्नलाई उत्तर दिदै विद्यालयस्तरीय प्रस्तुतिहरू समेत समावेश गरिने बताए र उत्कृष्ट प्रस्तुतिलाई पुरस्कृत गरिने लामाले जानकारी दिए । पत्रकारको थप प्रश्नमा गाईजात्रा तथा रोपाइँजात्रा शोक र मृत्यसँग सम्बन्धित पर्व भएको बताउदै लामाले नेपाल विविध धर्म र संस्कतिको संगमस्थल भएको बताए।

ऐतिहासिक, धार्मिक एवं साँस्कृतिक नगरी बौद्धको रोपाइँ जात्रा त्यही विविध साँस्कतिक भित्रको पहिचान भएको बताए । उनले रोपाइँ जात्रा अमूर्त साँस्कृतिक सम्पदा भएको र सँस्कृति राष्ट्रको गौरव भएको समेत जानकारी दिए ।अध्यक्ष जयमंगल लामाले गाईजात्रा तथा रोपाइँजात्रा पर्वलाई स्थानीय तामाङ भाषामा घोनाई भनिने र घोनाई पर्व मुख्य गरी जनैपूर्णिमादेखी प्रारम्भ भई गाईजात्रा हुँदै रोपाइँ जात्रामा समापन हुने पनि जानाकारी दिए। जनैपूर्णिमाको दिनलाई स्थानीय तामाङ भाषामा घोनाई इह्या भनिने र यस दिन विहानै मन्दिर, चैत्य, कुलदेवता र खेत–खेतमा क्वाटी र तीतेपाती चढाइन्छ र घर–घरमा क्वाँटी खाने चलन रहेको पनि उनले बताए । साथै, उनले नेवारी भाषामा गाईजात्रालाई सापारु भनिने र विशेष गरी गाईजात्रा नेवारी समुदायले मनाउने साथै यो मृत्यु सँस्कारसँग सम्बन्धित पर्व भएको पनि बताए।
कान्तिपुरका मल्लकालीन राजा प्रताप मल्ल (सन् १६४१–१६७४) ले गाईजात्रा चलाएको भन्ने इतिहासलाई आधार मान्दा सोहौं र सत्रौं शताब्दीदेखि नै रोपाइँजात्रा मनाउन थालिएको पाईन्छ । राजा प्रताप मल्लको छोरा चक्रवतीन्द्र मल्लको कलिलै उमेरमा मृत्यु भएकोले पुत्र शोकबाट भावविह्वल आफूनी रानी अनन्तप्रियालाई सान्त्वना दिन प्रताप मल्लले यो जात्रा चलाउन थालेका किवदन्ती छ।
काठमाडौं महानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष भुवन लामाका अनुसार ‘सांस्कृतिक सहर, समृद्ध महानगर’ नाराका साथ प्रत्येक वर्ष यो जात्रा भव्य रूपमा मनाउने गरिएको हो। यस वर्ष वडा कार्यालयले कार्यक्रमका लागि १५ लाख रुपैयाँको बजेट विनियोजन गरेको उनले जानकारी दिए। उनका अनुसार बौद्ध क्षेत्रमा बसोबास गर्ने तामाङ र नेवार समुदायको सांस्कृतिक साझा प्रयास स्वरूप यो जात्राले छुट्टै मौलिकता बोकेको छ।
बौद्धको सन्दर्भमा आफ्ना दिवंगत आफन्तजनको आत्माको शान्तिका लागि घर–घरबाट रोपार, बाउसे बनाई रोपाइँजात्रामा सहभागी गराउने चलन अधावधि चलेको पाइन्छ । जबसम्म व्यक्ति वा समुदायमा आफुनो संस्कृति आफैले वा आफूनो समुदायले जोगाउन पर्छ भन्ने चेतना आउँदैन तबसम्म चुनौतीहरू हाम्रा सामु आई नै रहन्छन् र हाम्रा पूर्खाले नासोको रूपमा सुम्पेका हाम्रो पहिचान बनेका अमुर्त साँस्कृतिक सम्पदाको संरक्षण एवम् सम्बद्र्धनमा हाम्रो ध्यान जानु आवश्यक छ रहेको गाईजात्रा तथा रोपाइँजात्रा (घोनाई जात्रा) मूल समारोह समितिका प्रवक्ता सम्पूर्ण लामाले जानकारी दिए।
यहि श्रावण २५ र २६ गते गाईजात्रा तथा रोपाइँजात्रामा ६० देखि ७० हजार मानिसको सहभागिता हुने आयोजक श्री बौद्ध तामाङ कल्याण गुठीको आंकलन गरिएको छ । यो कार्यक्रम वर्षेनी हुँदै आएको आयोजकले जनाएको छ ।वर्षौदेखि आफ्ना पूर्खाले मनाउदै आएको मौलिक कार्यक्रमलाई सफल पार्न सबै नेपालीको महत्वपूर्ण भूमिका हुने समेत आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।
बौद्धमा दुई दिने गाईजात्रा तथा रोपाइँ जात्रा अर्थात घोनाई जात्रा मनाइने भएको छ। तामाङ भाषामा रोपाइँ जात्रालाई घोनाई भनिन्छ। बौद्व धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल तथा विश्व सम्पदा सूचीमा रहेको बौद्धनाथ स्तुपा परिसरमा साउन २५ र २६ गते जात्रा मनाइने भएको हो।
दु्ई दिनसम्म हुने प्रतियोगितामा प्रथम हुनेलाई १० हजार, द्वितीयलाई ७ हजार, तृतीयलाई ५ हजार र सान्त्वना पुरस्कार २ हजार ५ सय नगद पुरस्कार सहित पदक, प्रमाणपत्र र ट्रफी प्रदान जानकारी दिएको छ।
कार्यक्रम अन्तर्गत रोपाइँ जात्राको दिन बौद्ध स्तुपाको परिक्रमा गर्दै फूलबारी, बौद्ध गेट, पिपलबोट मार्ग हुँदै पुनः स्तुपामा परिक्रमा गरिने आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी दिए।