काठमाडौं । राष्ट्रियसभा सदस्य डाक्टर अञ्जान शाक्यले समग्र कृषिक्षेत्रको विकासका लागि उत्कृष्ट कृषि केन्द्र (एग्रिकल्चर सेन्टर अफ एक्सीलेन्स) स्थापना गर्नुपर्ने बताएकी छिन् ।
राष्ट्रिय सभामा आर्थिक वर्ष २०८२–८३ को बजेटबारे आफ्ना धारणा राख्दै उनले ‘माटोको गुणस्तर परीक्षण प्रणाली, उचित बाली छनौट, बीउको गुणस्तर र उपचार प्रणाली, बीउ उब्जाउ प्रोत्साहन, बीउ सङ्कलन संयन्त्र, कृषि प्रणालीलाई व्यवसायिकरण, दिगो र आधुनिक बनाउने विषय लगायत समग्र कृषिक्षेत्रको विकासका लागि उत्कृष्ट कृषि केन्द्र स्थापना गर्नुपर्नेमा जोड दिइन् । उनले भनिन्– ‘यसबाट वैज्ञानिक, प्राध्यापक, कृषिविज्ञ, इन्जिनियर, उद्यमी, विद्यार्थी र किसानले रोजगारी पाउनेछन् । यसले नेपाललाई निर्यातमुखी कृषि राष्ट्र बनाउनेछ ।’
शाक्यले बजेटले कृषि आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि, सिँचाइ सुविधा विस्तार, उन्नत बीउ तथा मलको उपलब्धता, बजारीकरण र यान्त्रिकीकरणमा जोड दिएको त्यो सकारात्मक रहेको बताइन् ।
उनले कृषि र उद्योगमा उत्पादन र उत्पादकत्व वृद्धि नगरी दिगो आर्थिक विकास सम्भव नहुने भन्दै युवालाई लक्षित गरी कृषि र उद्योगमा आकर्षित गर्न विशेष प्रोत्साहनका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिइन् । ‘विद्यालय तहदेखि नै विद्यार्थीलाई खेतीपातीमा आकर्षित गर्न नीति निर्माण गर्नुपर्छ । कृषि र उद्यमशीलता शिक्षालाई पाठ्यक्रममा समावेश गर्न, प्राविधिक र व्यावसायिक तालिम विस्तार गर्न, विश्वविद्यालयमा इन्क्युबेसन सेन्टर स्थापना गर्नेमात्र नभई यसको प्रभावकारी कार्यान्वयनको पनि व्यवस्था गर्नु पर्दछ ।’
सांसद शाक्यले लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी जिल्लामा उच्च मूल्यका बाली प्रवर्द्धन गर्न सकिने, किसानलाई कर छुट र प्रोत्साहन योजना दिनुपर्ने जस्ता कुरामा पनि जोड दिइन् ।