• जेष्ठ ९ २०८२, बिहीबार

भाकपा (माओवादी)का महासचिवको हत्याप्रति समाजवादी कम्युनिष्ट पार्टीको आक्रोश

जेष्ठ ९ २०८२, बिहीबार

काठमाडौं । भारतीय कम्युनिष्ट पार्टी माओवादीका महासचिव बसवराजको हालै भारतको छत्तिसगढमा भएको हत्याप्रति समाजवादी कम्युनिष्ट पार्टी नेपालले खेद प्रकट गरेको छ । समाजवादी कम्युनिष्ट पार्टीको विदेश विभाग प्रमुख विप्लवले आज एक विज्ञप्तिमार्फत् महासचिव बसवराजको हत्याप्रति आक्रोश व्यक्त गरेका छन् । प्रेस विज्ञप्तिमा प्रमुख विप्लवले अतिहिन्दुवादी मोदी सरकारले भारतीय माओवादीमाथि कायरतापूर्ण र बर्बर दमन गरेको भन्दै निन्दा गरेका छन् ।

विज्ञप्तिमा विप्लवले भारतीय हिन्दू अतिवादी पुरातनपन्थी शासकहरूले भारतमा लामो समयदेखि सञ्चालित माओवादी जनयुद्धमाथि ‘अपरेसन ब्लाक फरेस्ट’ र ‘अपरेसन कागर’ नामको कुख्यात, बर्बर दमन र हत्या अभियान सञ्चालन गरेर शीर्षस्थ नेता भाकपा (माओवादी) का महासचिव क. बसवराजको हत्या गरेको दुःखद् समाचारले संसारभरिका मालेमावादी क्रान्तिकारीहरूलाई दुःखी र आक्रोशित बनाएको बताएका छन् ।

महासचिव बसवराजसहित २७ जना क्रान्तिकारी योद्धाहरूको हत्या गरेको भारतीय गृहमन्त्री अमित शाहले यसको पुष्टि गर्दै प्रचार गरेको भन्दै विज्ञप्तिमा ‘क्रान्तिकारीहरूको हत्या अभियानबाट समाधान खोज्ने भारतीय साम्राज्यवादी सत्ताका यसप्रकारका घृणित र निन्दित हर्कतहरूप्रति तीव्र निन्दा, घृणा र आक्रोश प्रकट गर्दछ, विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा पाकिस्तानसँगको युद्धमा पराजयबाट तिल्मिलाएको भारतीय सत्ताले त्यसको झोक आफ्‌नै देशका क्रान्तिकारी माओवादीमाथि देखाएको भन्दै संसारका मालेमावादीहरूले यो र यसप्रकारका अपूरणीय क्षतिहरूको मूल्य शक्तिशाली वर्गसङ्घर्ष सञ्चालन गरेर वैज्ञानिक समाजवादी जनक्रान्तिबाट चुक्ता गर्नुपर्छ र सम्पूर्ण किसिमका शोषण, दोहन, दमन, विभेद र असमानताबाट उत्पीडित वर्गलाई मुक्त गर्नुपर्छ भन्ने विश्वास र प्रतिबद्धता जनाइएको छ ।