काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह आगामी जेठ १५ गते गणतन्त्र दिवस मनाउन आयोजित बैठकमा नआएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रश्न उठाएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार भएको बैठकमा मूल समारोह समिति गठनका क्रममा सम्बोधन गर्दै पटक पटक बोलाउँदा पनि नआउनेको नाम अब राखिरहनु जरूरी नभएको पनि ओलीले बताए ।
काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि बालेन्द्र साहले संघीय सरकारका औपचारिक बैठक र छलफलमा सहभागिता जनाउने गरेका छैनन् ।
अझ वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग एक वर्षदेखि शीत युद्ध चलाइरहेका बालेनले सोमबारको बैठकमा पनि सहभागिता जनाएनन् । यद्यपि मुख्य सचिव एकनारायण अर्यालले बालेनतिर संकेत गर्दै लिखित निम्तो नै पठाइको जानकारी दिए ।
काठमाडौं मेयर्स फोरममा समेत बस्न छाडेका बालेन पछिल्लो समय आफैंले कारबाही गरेका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं कार्यालयमा हाजिर भएदेखि तनावमा छन् । उनले गुरागाईंलाई भ्रष्टाचारीको संज्ञा दिइरहे पनि अहिलेसम्म अख्तियार दुरूपयोग अनुसन्धान आयोगसहित कुनै निकायले पनि गुरागाईंबारे छानबिन गरेर ठोस प्रमाण जुटाएका छैनन् ।
‘मानका खातिर मानको चलन छोड्दा पनि हुन्छ कि के हो ? केही मान्छेको नाम हरेक पटक राख्यो आउँदैनन्’, उनले बालेन्द्रतिर लक्षित गर्दै भने, ‘त्यस्ता नआउने मान्छेको नाम अब यो बैठकमा टाँस्नुको कुनै अर्थ छैन । अहिले पनि यहाँ नआएका मान्छे खोज्यो भने भेटिन्छन् कि जस्तो लाग्छ मलाई त । कहिले पनि नआउने नाम चाहिँ सधैँ टाँस्नु पर्ने, यो चलन ठिक भएन ।’
ओलीले सम्बन्धित मान्छेलाई नै वास्ता छैन भने अब संघीय सरकारले पनि वास्ता गर्ने छाड्नुपर्ने बताए । ‘खुदै व्यक्तिलाई कुनै वास्तै छैन महत्व छैन भने अब नाम नराखौँ । एक पटक ती मान्छेलाई तपाईंहरू सोध्नुस्, यदि रूचि छैन भने अबदेखि औपचरिकता पूरा गर्न नाम नराखौँ’, उनले भने ।