५ जेठ, काठमाडौँ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल लगायतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । आरोपितहरू माथि जनही ५ करोड ७९ लाख बिगो दाबीसहित विशेष अदालतमा मुद्दा दायर भएको आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार राष्ट्रिय सूचना प्रविधि केन्द्रबाट आर्थिक वर्ष ०७५-०७६ मा खरिद गरिएका मुख्य उपकरणको प्राविधि विवरणहरू अनलाइनमा प्राप्त विवरणसँग मिल्न गएको र अनलाइनमा उल्लिखित मूल्यसूचीभन्दा बढीमा खरिद गरेको पाइएको उजुरीका सम्बन्धमा अनुसन्धान गरी मुद्दा दायर गरिएको हो ।
आयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्रका सहायक निर्देशक रमेश प्रसाद पोखरेल भन्ने रमेश पोख्रेल र कम्प्युटर इन्जिनियर रामशरण गायकविरुद्ध पनि मुद्दा दायर गरेको छ ।
यस्तै, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन अधिकृत निमबहादुर वली, म्याक्स इन्टरनेशनल प्रालि, पुतलीसडक र उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत अकवर हुसेनविरुद्ध पनि मुद्दा दायर भएको छ ।