• जेष्ठ ६ २०८२, सोमबार

सीटीईभीटीका सहायक निर्देशक गोविन्द पौडेललाई कालोमोसो

जेष्ठ ६ २०८२, सोमबार

काठमाडौँ । नेकपा बहुमतको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का सहायक निर्देशक तथा बिपी कोइराला प्राविधिक शिक्षालयका प्राचार्य गोविन्द पौडेललाई कालोमोसो दलेको छ ।

विद्यार्थीहरूलाई अवैध रूपमा पास गराई नक्कली प्रमाणपत्र निर्माण गरी आर्थिक लाभका लागि बिक्री गर्ने आपराधिक कार्यमा संलग्न भएको भन्दै जनकारवाही स्वरुप अखिल (क्रान्तिकारी) बहुमत मधेश प्रदेश समितिले कालोमोसो दलेको जनाएको छ।

त्यस्तै क्रान्तिकारीले परीक्षा, मूल्यांकन र प्रमाणपत्र वितरण प्रक्रियामा व्यापक घूस लेनदेन र कमिसन चलखेल गर्दै संस्थाको गरिमा र विश्वसनीयता समाप्त पार्ने गरेको समेत आरोप लगाएको छ।

त्यस्तै कानुनी प्रक्रिया र योग्यता नहेरी, आर्थिक लेनदेनको आधारमा कर्मचारी नियुक्ति गर्ने गरेको, शैक्षिक माफियासँग साँठगाँठ गरी संस्थालाई निजी स्वार्थपूर्ति गर्ने माध्यम बनाउने गरेको, विद्यार्थीहरूको भविष्यमाथि खेलवाड गर्ने गैरजिम्मेवार र अपराधजन्य गतिविधि गरेको आरोप क्रान्तिकारीले लगाएको छ।

कालोमोसो दलेको आरोपमा प्रहरीले सचिवालय सदस्य तथा मधेश प्रदेश संयोजक आयुश घिमिरे र केन्द्रीय सदस्य तथा सिराह जिल्ला अध्यक्ष रामदेव महरालाई नियन्त्रणमा लिएको छ ।

यसैबीच क्रान्तिकारीका अध्यक्ष बिरेन्द्र शाहले पौडेललाई चौरासीघरे कारवाही गरिएको भन्दै गिरफ्तार गरिएका आफ्ना नेता कार्यकर्ताहरुलाई तत्काल रिहा गर्न माग गरेका छन् । साथै पौडेललाई बर्खास्त गरी तत्काल कडा कारवाही गर्न जोडदार माग गरेका छन् ।