काठमाडौं । आज मे १ तारिख, अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा संसारभर क्रियाशील क्रान्तिकारी लेखक, पत्रकार, साहित्यकार तथा संस्कृतिकर्मीहरुको छाता संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले यस १३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवसप्रति ऐक्यवद्धता जाहेर गरेको छ ।
सो संगठनका अध्यक्ष हस्तबहादुर केसीद्वारा जारी विज्ञप्तिमा यस्तो ऐक्यवद्धता जनाइएको छ । हाल युरोप भ्रमणमा रहेका केसीले मजदूरहरुले क्रान्ति गरेको ऐतिहासिक भूमि फ्रान्सको पेरिसबाट १३६औं मजदूर दिवसमा ऐक्यवद्धता जनाउन पाउँदा गर्वबोध भएको बताएका छन् ।
यस्तो केसीले जारी गरेको विज्ञप्ति :
‘आज मे १ तारिख, अन्तर्राष्ट्रिय श्रमिक दिवस । आज संसारभरका आधुनिक मजदुर तथा श्रमिकहरुले १३६ औं अन्तर्राष्ट्रिय श्रमिक मजदुर दिवस भव्यताका साथ मनाउन गइरहेका छन् । यस अवसरमा संसारभर क्रियाशील क्रान्तिकारी लेखक, पत्रकार, साहित्यकार तथा संस्कृतिककर्मीहरुको छाता संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले यस १३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवसप्रति ऐक्यबद्धता जाहेर गर्दछ ।
आज कम्युनिस्ट अन्तर्राष्ट्रिय पनि छैन, विघटित अवस्थामा छ । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन पनि रक्षात्मक अवस्थामा छ । विभिन्न मुलुकमा सञ्चालन गरिएका र क्रान्तिको तयारी भइरहेको भए पनि क्रान्तिका निम्ति वस्तुगत अवस्था तयार हुँदाहुँदै पनि सबै देशहरूमा सबैखाले दक्षिणपन्थी संशोधनवादीहरु र प्रतिक्रियावादीहरुका कारणले समेत क्रान्तिका लागि आत्मगत अवस्था ज्यादै कम्जोर अवस्थामा छ ।
यसरी एकातिर दक्षिणपन्थी संशोधनवाद विश्व सर्वहारा क्रान्तिका लागि बाधकका रुपमा खडा हुन पुगेको छ भने अर्कोतिर देशीय प्रतिक्रियावाद र बाह्य रुपमा साम्राज्य, प्रभुत्ववाद, क्षेत्रीय विस्तारवादका विविध प्रकारका जालझेल, षड्यन्त्र, तिक्डमबाजी, हस्तक्षेप, आक्रमण, उत्पीडन र शोषणका कारणले पनि क्रान्तिको तयारीका निम्ति प्रमुख बाधकका रुपमा खडा भइरहेको अवस्था छ ।
यति मात्र होइन अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनलाई कम्जोर पार्न, विश्व सर्वहारा क्रान्तिलाई कम्जोर पार्न साम्राज्यवादी तथा पुँजीवादीहरुले विभिन्न नाम र स्वार्थका आधारमा मजदूर युनियन खोल्न दिने, विविध प्रकारका लोभ र प्रोलोभन देखाउने, सिमित अधिकार, वेतन, पेसामा सिमित थप सहयोग बढाउने, मजदुरहरु र उनका सन्तानहरुलाई सिमित मात्रामा शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा सहुलियत दिएको बहनााबाजी गरेर र सिमित मात्रामा सुधारका कार्य गरेर आफ्नो सत्ता टिकाउका निम्ति सहुलियत र छुट दिने गरेका र मजदुर–मजदुर बीच फुट र विभाजन पैदा गर्दै आएका कारण आज सच्चा क्रान्तिकारी मजदुर आन्दोलन कम्जोर बन्दै आएको छ ।
यसप्रकारको जटिल र कठिन परिस्थितिमा मजदूरहरुका सानातिना आन्दोलनहरुले मजदूर मुक्ति आन्दोलनले सफलता प्राप्त गर्ने र आधुनिक श्रमिक मजदुरहरुको वर्गीय मुक्ति सम्भव छैन । वैज्ञानिक समाजवादी क्रान्तिकाद्वारा मात्र पुरा हुने भएकोले एकताबध्द भएर सच्चा क्रान्तिकारी मजदूरहरुले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन भित्र र स्वयम् क्रान्तिकारी मजदूर तथा श्रमिकहरुका बीचमा पैदा भएका दक्षिणपन्थी संशोधनवादीहरु, नवसंशोधनवादीहरु, छद्म संशोधनवादीहरु र सबैखाले अवसरवादीहरुसमेतलाई मालेमावादको आलोकमा सैद्धान्तिक तथा वैचारिक रुपले समेत परास्त गर्दै मुक्ति वैज्ञानिक समाजवादी क्रान्तिद्वारा मात्र पुरा हुने भएकोले संसारभरका सच्चा क्रान्तिकारी मजदुरहरु एकताबद्ध भएर आ–आफ्नो देशहरुमा सञ्चालन भइरहेका नयाँ जनवादी क्रान्ति र वैज्ञानिक समाजवादी क्रान्तिका निम्ति ज्वारभाटा बनेर लामबद्ध हुन हाम्रो संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार संसारभरका सच्चा क्रान्तिकारी मजदूर तथा श्रमिक समुदायलाई हार्दिक अनुरोध गर्दछौं र ती संसार बदल्न सक्ने क्रान्तिकारी मजदूर तथा श्रमिकहरु कम्युनिस्ट पार्टीहरुले सञ्चालन आँधीबेहरीपूर्ण आन्दोलनमा सहभागी बन्ने र संसारभर समाचार फैलाउने छौं भन्ने विश्वास दिलाउन चाहन्छौं ।
कम्युनिस्ट मजदूरहरुले पहिलो पटक मार्क्सवादको प्रयोग गरेको भूमि, मजदूर (कम्युनिस्ट) हरुले पहिलो पटक सशस्त्र बलद्वारा सत्ता कब्जा गरेको भूमि, सर्वहारा वर्गले पहिलो पटक कम्युनको निर्माण गरिएको ऐतिहासिक भूमि पेरिस उभिएर साथै ७२ दिन पछि प्रतिक्रियावादी सत्ताद्वारा प्रतिक्रान्ति गरे पश्चात् कम्युन ढलेपछि प्रतिक्रियावादी भर्साइल सत्ताद्वारा हत्या गरिएका ३०औं हजार सहिदहरुको रगतले सि१िचत उर्वर भूमि पेरिसको भूमिमाथि उभिएर संसारभरका आधुनिक मजदुर तथा श्रमजीवीहरुले १३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवस धुमधाम र उत्साहजनक ढंगले मनाइरहेको यस ऐतिहासिक र महत्वपूर्ण अवसरमा हामीले ऐक्यबद्धता जाहेर गर्न पाउँदा गौरवको अनुभूति भएको समेत सबैमा सहर्ष जानकारी गराउन चाहन्छौं ।
क्रान्तिकारी अभिवादन सहित ।
मिति : १ मे २०२५
: १८ बैशाख २०८२
स्थान : पेरिस, फ्रान्स, युरोप
हस्तबहादुर केसी
अध्यक्ष
अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र ।